ठोरीमा भारतीय सवारीसाधनलाई ‘अस्थायी पास’, संसद्‌मा कांग्रेसको आवाजपछि कर्मचारी खटाइयो

डिसी नेपाल
२६ असार २०८३ ७:५७

काठमाडाैं। पर्साको ठोरीमा भारतीय सवारीसाधनको प्रवेशमा रोक लगाइएको विषय प्रतिनिधि सभा बैठकमा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभा बैठकमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाएकी थिइन्।

उनले ठोरीमा रहेको छोटी भन्सार कार्यालयको भवनमा कर्मचारी व्यवस्थापन गरेर पर्यटकका सवारीसाधनलाई भन्सार रसिद काटेरै सहज आवागमन सुनिश्चित गर्नुको साटो, उल्टै सवारीसाधन फर्काइएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले तत्काल कर्मचारी राखेर भन्सार कार्यालय सञ्चालन गर्न र भन्सार प्रक्रिया पूरा गरी पर्यटकका सवारीसाधन आउने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

सांसदको ध्यानाकर्षण लगत्तै वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीस्थित छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको छ। वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी उदयसिंह विष्टका अनुसार ठोरी छोटी भन्सारमा एक जना सुब्बा तहका कर्मचारी र एक जना कार्यालय सहयोगी खटाइएको हो। उनले त्यहीँबाट भारतीय सवारीसाधनलाई निःशुल्क रूपमा अस्थायी पास उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए।

अहिले ठोरीको छोटी भन्सार कार्यालयबाट नै भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास उपलब्ध गराउन सुरु गरिएको छ। यो पास वाहक सवारीसाधनहरू तत्कालका लागि ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन सक्ने छन्। बाँकी विषयमा मन्त्रालयबाट हुने निर्णयका लागि पत्र पठाई जानकारी गराइसकिएको भन्सार अधिकृत विष्टले बताए।

यसअघि असार १९ गतेदेखि सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै भारतीय पर्यटकका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो। त्यसपछि ठोरीका स्थानीय पर्यटन व्यवसायीहरूले विरोध जनाउँदै निर्णय सच्याउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए।

पछिल्लो समय ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँ भारतीय पर्यटकलाई लक्षित गरेर दर्जनौँ होटल तथा रिसोर्टहरू सञ्चालनमा छन् भने सयौँ स्थानीयले रोजगारी पाएका छन्। ठोरीमा दैनिक दुई सयभन्दा बढी निजी भारतीय सवारीसाधनमा पर्यटकहरू आउने गरेकाले यहाँको पर्यटन व्यवसाय चलायमान बन्दै गएको अवस्थामा सवारीसाधन आवतजावतमा भएको अवरोधले पर्यटकीय गतिविधि ठप्प बनेको थियो। तर, नयाँ व्यवस्था भएसँगै व्यवसायीहरूमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *