‘कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य छैन’

डिसी नेपाल
३२ साउन २०७६ २३:०२

काठमाडौँ । कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरुले बताएका छन्।

नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै कवाडी व्यवसायीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताए।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायीहरु पलायन हुने र लाखौँको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न सुझाव दिए। उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरे।

संघका सचिव शुक्र बहादुर लामाले फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीहरुले स्वरोजगार र राज्यलाई कर तिरिरहेकोले राज्यले उचित सम्मान गर्नु पर्ने बताए।

व्यवसायीहरु एकजुट हुन नसक्दा काम गर्न असहज भइरहेको बताउँदै उनले नेपाल सरकार स्थानीय तहको नीति तथा कार्यक्रमले कवाडी व्यवसायीहरुलाई सम्बोधन गर्नु पर्ने र त्यसकालागि दबाब दिने पनि बताए।

एक्लै केही गर्न नसकिने बताउँदै उनले एउटै छातामुनि बसेर काम गर्न व्यवसायीहरुलाई आग्रह गरे। आफ्ना माग र गरिखाने वातावरण बनाउने विषयमा सम्बन्धित निकायले ध्यान नदिएमा आन्दोलन गर्न पनि संघ तयार रहेको भन्दै उनले व्यवसायीलाई साथ दिन र सहयोग गर्न आग्रह गरे।

उनले कवाडी व्यवसायीहरुको हकहीत र अधिकारकोलागि संघर्ष गर्दै संघले २९ वर्ष व्यतित गरेको बताए। कवाडी व्यवसायीहरुको हितको लागि आफू लागिपरेको बताउँदै उनले आगामी दिनमा आफ्नो भूमिका अझ सशक्त बनाउने बताए।

संघको काठमाडौँ जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायीहरु साना व्यवसायी भएकोले सरकारले सोही अनुसार व्यवहार गर्नु पर्ने बताए। ठूला व्यवसायीहरुले साना व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको उनले बताए । यो अवस्था चिर्दै गरिखाने वातावरण बनाउन आवश्यक रहेको रहेको उनले बताए।

संघका सल्लाहकार विवेक सिलवालले सरकारी नियम र कानूनले व्यवसायीहरु मारमा परेको उल्लेख गरे। कवाडी व्यवसायीलाई भ्याटमा जान अनिवार्य गरेपछि समस्या परेको उनले उल्लेख गरे।

कवाडी मजदुर व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै सिलवालले आफ्नो व्यवसाय र रोजगारी बचाउन लाग्नु पर्ने उल्लेख गरे। सरकारले कवाडी व्यवसायीमाथि लगाएको १३ प्रतिशत भ्याटको निर्णय तत्काल फिर्ता गर्न माग पनि गरे। यसको विरुद्धमा व्यवसायीहरु सडकमा आउन पनि तयार रहेको भन्दै त्यसको सामना गर्न उनले सरकारलाई चेतावनी दिए।

नेपालमा आफ्नो अधिकार प्राप्तिको लागि लड्नै पर्ने बाध्यता रहेको बताउँदै नेपाल आम आद्मी पार्टीकी कोषाध्यक्ष मधुमाया यादवले कवाडी व्यवसायमा १३ प्रतिशत भ्याट लगाउनु ठीक नभएको बताइन्। यो मजदुरको घाँटी च्याप्ने काम भएको भन्दै यसको विरुद्धमा आवाज उठाउन आम आद्मी पार्टी मजदुरको पक्षमा रहेको उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *