विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा

डिसी नेपाल
२८ असार २०८३ ९:५७

काठमाडौं। फिफा विश्वकप २०२६ अब आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलहरू सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा बाँकी रहेका चार शक्तिशाली टोलीहरूले अब उपाधि उचाल्ने लक्ष्यसहित फाइनल प्रवेशका लागि कडा प्रतिस्पर्धा गर्नेछन्।

क्वार्टरफाइनलको अन्तिम चरणसम्म आइपुग्दा साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका छन्। पछिल्लो क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलको यात्रा तय गर्‍याे।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरेका थिए। त्यस्तै, अर्को क्वार्टरफाइनलमा नर्वेलाई २-१ ले हराउँदै इङ्ग्ल्यान्डले पनि सेमिफाइनलमा स्थान बनाएको छ। यसअघि नै स्पेनले बेल्जियमलाई र फ्रान्सले मोरक्कोलाई पराजित गर्दै अन्तिम चारको यात्रा पक्का गरिसकेका थिए।

सेमिफाइनलको समीकरण निकै रोचक बनेको छ। पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन्। युवा प्रतिभा र उत्कृष्ट लयमा रहेको स्पेन र अनुभवी खेलाडीहरूको साथ रहेको फ्रान्सबीचको यो भिडन्त निकै उच्चस्तरीय हुने अपेक्षा गरिएको छ। त्यस्तै, अर्को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्ड एक-अर्कासँग भिड्नेछन्।

लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना र विश्व च्याम्पियन बन्ने दृढ लक्ष्य बोकेको इङ्ग्ल्यान्डबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल प्रशंसकहरूको ध्यान तानेको छ।

विश्वकपको फाइनल खेल जुलाई १९ मा न्यु योर्क न्यु जर्सी स्टेडियममा हुनेछ। सेमिफाइनलका यी दुई खेलले नै अब विश्व फुटबलको महाकुम्भमा कसले उपाधि चुम्नेछ भन्ने स्पष्ट पार्नेछन्।

अनुभव, रणनीति र खेलाडीको व्यक्तिगत प्रदर्शनले नै अबको फाइनल यात्रा तय गर्नेछ। विश्वभरका समर्थकहरू अब यी दुई बहुप्रतिक्षित सेमिफाइनल खेलहरूको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *