नेकपामा फेरि उदाए बामदेव गौतम

डिसी नेपाल
१ भदौ २०७६ ८:०२

काठमाडौं। गत संसदीय निर्वाचनमा मुलुकभर बाम गठबन्धनका उम्मेद्वार एकपछि अर्को विजयी बन्दै गर्दा तत्कालीन एमाले उपाध्यक्षसमेत रहेका बामदेव गौतम भने कांग्रेसका उम्मेद्वारसँग नराम्रोगरी पराजित बन्न पुगे। कसैले गौतमको हारलाई अन्तर्घातको भएको रुपमा बुझे भने कसैले गौतमले निर्वाचन क्षेत्रमा काम नगरेका कारण जनताले पराजित बनाएको टिप्पणी गरे। हुन पनि स्थानीय तहको निर्वाचनमा बाम गठबन्धन कांग्रेस भन्दा ३० हजार मतले अगाडि थियो।

संसदीय निर्वाचनमा पराजित भएका गौतमको राजनीतिक भविष्यका विषयमा प्रश्न उठ्न थाल्यो। गौतम आफैं पनि कुनै न कुनै रुपमा संसदमा प्रवेश गर्न चाहन्थे। त्यसका लागि उनले प्रयास नगरेका होइनन्। तर काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातबाट निर्वाचित सांसद रामवीर मानन्धरले बामदेवाका लागि भन्दै राजीनामा नै नदिएपछि राजनीति निकै तरंगित बन्न पुगेको थियो।

त्यसपछि नै हो प्रधानमन्त्री ओली र बामदेव गौतमबीचको सम्बन्धमा दरार उत्पत्न भएको। त्यसपछि गौतमले आफ्नो कित्ता परिवर्तन गर्दै माधव नेपाल समूहसँग निकट बन्न पुगेका थिए। तर, अब गौतमको भाग्य बद्लिएको छ। उनी सत्तारुढ नेकपाभित्र एकएक शक्तिशाली बन्न पुगेका छन्।

संसदीय निर्वाचनमा पराजित भएपछि सांसद बन्न नपाएका गौतमलाई अहिले पदको ओइरो लाग्न थालेको छ। गौतमले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ।

गौतमले आफ्नो कित्ता परिवर्तन गर्दै माधव नेपाल समूहसँग निकट बन्न पुगेका थिए। तर, अब गौतमको भाग्य बद्लिएको छ। उनी सत्तारुढ नेकपाभित्र एकएक शक्तिशाली बन्न पुगेका छन्।

पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए।

त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो।तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

ओली–वामदेव सम्बन्धपछि नेकपाभित्रको राजनीतिमा नयाँ समीकरण देखिएको छ। झन्डै दुई साताअगाडिसम्म अध्यक्ष ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर र अन्य सचिवालयका ६ नेता अर्कातिर जस्तै देखिएको राजनीतिक समीकरणमा गौतमको भूमिका बलियो भएपछि नयाँ मोड लिन पुगेको छ।

ओली–गौतम सम्बन्ध गौतमको २८ असारमा परेको जन्मदिनमा ओलीले बालुवाटारमा दिएको भोजदेखि नै विस्तार भएको थियो। ओलीले गौतमका बाबु–छोरालाई बालुवाटारमा बोलाएर जिम्मेवारीका वियषमा छलफल गरेपछि दुई नेता नजिकिएका थिए।

तत्कालीन एमालेभित्र ओली र नेपालपछि गौतम बलिया थिए। तत्कालीन माले समूहको नेतृत्वमा रहेका कारण पार्टी्भित्र उनको छुट्टै हैसियत थियो। नवौं महाधिवेशनमा ओली–गौतमको समीकरण बनेकै कारण ओलीले अध्यक्षमा जिेतका थिए।

पार्टी एकतापछि निरन्तर कमजोर बन्दै जान थालेपछि उनी निकटका केही नेताहरूले गुट अदलबदलसमेत गरे। त्यतिबेला गौतमले आफ्नो समूहलाई छिन्नभिन्न पार्ने प्रयास भइरहेको बताएका थिए। तर पनि उनको नेकपाभित्र ओली, दाहाल, नेपालपछि रामबहादुर थापासरहकै गुटको प्रतिनिधित्व गर्थे।

पार्टी केन्द्रीय समितिको ४४१ सदस्यमा झन्डै ५ प्रतिशत नेता गौतमसँग छन्। केन्द्रीय समितिमा केशवलाल श्रेष्ठ, दलबहादुर राना, बलराम बाँस्कोटा, राधा ज्ञवाली, हरिप्रसाद पराजुली, सावित्रीकुमार भुसाललगायत नेता गौतम पक्षका छन्।

शुक्रबार थपिएका प्रदेश पदाधिकारीसहित प्रदेशका ४२ पदाधिकारीमा गौतम पक्षका तीन नेता जिम्मेवारीमा छन्। जिल्ला अध्यक्षमा गौतमका ८ नेता छन्। पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जमा उनी पक्षका एक दर्जन नेताले जिम्मेवारी पाएका छन्।

गौतम सिद्धान्त बुझेका, अत्यन्त क्रियाशील र अध्ययनशील छन्। २०५० साल जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएपछि गौतम राष्ट्रिय राजनीतिमा उदाएका हुन्। तीनै गौतम अहिले सत्तारुढ नेकपाभित्र शक्तिशाली भनेर फेरि उदायका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *