सम्झौता कार्यान्वयन नहुँदा पोखरीमाथि यातायात

डिसी नेपाल
४ भदौ २०७६ ०:०८

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी कालोपत्र गर्न आयोजना र जनप्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नहुँदा यात्रुहरू सडकमा बनेका पोखरी छिचोल्दै यात्रा गर्न बाध्य छन्।

सडक विस्तार गर्न ठेक्का गरेको समय सकिएर थपिएको म्याद पनि सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन। यात्रु भने पानी परेका बेला पोखरी र घाम लागेका बेला धुलोको कुहिरी मण्डल पार गर्न बाध्य छन्।

सडकको दूरावस्था भएपछि गत साउन ७ गते काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको कार्यालयमा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीनै तहका जनप्रतिनिधि डाकेर बैठक गरिएको थियो।

छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायतका जनप्रतिनिधिको सहभागिता थियो।

मर्मत शुरु गरेको भन्दै जनप्रतिनिधिले ग्राभेल भनी हालेको माटो भारी वर्षासँगै भेलले बगाएपछि सडकमा ठूल्ठूला पोखरी बनेको छ। पोखरी बनेको सडकमा यातायात सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ।

सडकमा बनेको पोखरीकै कारण सडक जाम हुने गरेको छ। सडकको दूरावस्थाका कारण घण्टौ जाममा बस्नुपर्दा पनि सरोकार भएका निकायको ध्यान जान नसकेको यात्रु बलराम पाठकले गुनासो गरे। नगरपालिकाले सार्वजनिकप्रति जग्गा खाली गर्न गराउन पहल गर्दै सार्वजनिक सूचना जारी गर्ने र जीर्ण सडकमा तत्काल मर्मतसम्भार शुरु गर्ने सहमति जनप्रतिनिधिसँगको बैठकमा भएको थियो।

सडक विस्तार हुन नसकेपछि पाँच पटकसम्म मर्मत भइसकेको आयोजनाले जनाएको छ। सडकमा नाली खोल्न नदिएपछि जतिपटक मर्मत गरेपनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्याल बताउँछन्।

भदौ ४ गते बुधबारदेखि नै मर्मतका लागि आयोजनाबाट इञ्जिनीयर पठाउने पनि उहाँले जानकारी दिए। भदौ ६ गते गोकर्णमा बाबुको मुख हेर्ने अवसर पारेर लाखौँ भक्तजन मेला भर्न आउने भएकाले सडक मर्मत गर्न लागिएको आयोजनाले जनाएको छ। दशैँ अघि अर्कोपटक सडक मर्मत गर्ने कार्यक्रम छ।

आयोजनाले जोरपाटीबाट भगवतीस्थानसम्म रु २६ लाख ४३ हजार ८६४ र भगवतीस्थानबाट सुन्दरीजलसम्म रु तीन लाख एक हजार १८५ मर्मतमा मात्र खर्च गरेको छ। दुई खण्डमा ठेक्का भएपनि एउटै निर्माण व्यवसायीले काम पाएको छ।

आशीष÷सिएम कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको हो। निर्माण व्यवसायी शान्तराम श्रेष्ठ सात किमीको यो दुरीमा ९१२ घर रहेको र घर जग्गाको मुआब्जा मागी स्थानीयवासीले बनाएको सङ्घर्ष समितिले काम गर्न नदिएका कारण केही गर्न नपाइएको बताउँछन्।

करीब सात किमी सडक रु ६३ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न चार वर्ष अघि ठेक्का सम्झौता भएको थियो। दुईखण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ।

सार्वजनिक जग्गा भएको केही स्थानमा मात्र विस्तार हुन लागेजस्तो देखिन्छ। पहिलो पटकको अवधि सकिएर थपिएको म्याद पनि विसं २०७७ जेठमा सकिँदैछ। हालसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको निर्माण व्यवसायीको भनाइ छ।

नगरपालिकाका प्रवक्ता ढुङ्गाना सडक विस्तार, निर्माण एवं मर्मतका लागि सूचना निकाली सकिएकाले यसै हप्तादेखि काम शुरु गर्ने बताउँछन्।

बाबुको मुख हेर्ने औँसीमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको तयारीका लागि भने आजैदेखि नगरपालिकाका प्राविधिक खटाएर काम शुरु गरिएको जानकारी पनि उनले दिए।रासस




प्रतिक्रिया

One thought on “सम्झौता कार्यान्वयन नहुँदा पोखरीमाथि यातायात

Leave a Reply

Your email address will not be published. Required fields are marked *