सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार

डिसी नेपाल
४ भदौ २०७६ ९:३७

सङ्खुवासभा । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ। मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ। भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो।

दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताए। टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको जनाएको छ।

पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएका मोबाइल फोन चल्न नसकेपछि स्थानीयवासीले टावरको माग गरेका थिए। मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ। खाँदबारीमा रहेको टेलिकम शाखाले सङ्खुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिरहेको प्रमुख भट्टराईले बताए।

अहिले उक्त स्थानहरुमा सौर्य उपकरणका भरमा बिटीएस प्रणालीमार्फतसेवा सञ्चालन गरिएको हो । भोटखोलाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए। भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्यबत्तीकै भरमा बिटीएसबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । उनका अनुसार जिएसएम आठ, सिडीएमए पाँच र ल्याण्डलाइन सेवा पाँच स्थानबाट सञ्चालन भएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *