तनहुँको शुक्लागण्डकीका ५३१ जनालाई अपाङ्गता परिचयपत्र वितरण

डिसी नेपाल
४ भदौ २०७६ १०:०९

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका अपाङ्गता भएका व्यक्तिले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। अपाङ्गता भएका व्यक्तिको सहजताका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर गरेपछि उनीहरुले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका हुन्।

नगरपालिकाले १२ वडाका ५३१ लाई अपाङ्गता परिचयपत्र वितरण गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिईन् । उनका अनुसार ‘क’ वर्गका १३०, ‘ख’ वर्गका २०५, ‘ग’ वर्गका १२४ र ‘घ’ वर्गका ७२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।

वडा नं १ मा ४४, २ मा ४५, ३ मा ५०, ४ मा २४, ५ मा ३९, ६ मा ४०, ७ मा ४७, ८ मा ३३, ९ मा ५६, १० मा ६३, ११ मा ५६ र वडा नं १२ का ३४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। अपाङ्गता परिचयपत्र लिन छुटेका व्यक्तिलाई पुनः शिविर गरेर परिचयपत्र दिइने नगरपालिकाले जनाएको छ।

स्थानीय तहमा अपाङ्गता परिचयपत्र वितरण गर्ने अधिकार आएपछि नगरपालिकाले पहिलोपटक वडा तहमै पुगेर परिचयपत्र वितरण गरेको नगरपालिकाका उपप्रमुख एवं अपाङ्गता समन्वय समितिका संयोजक सविता रसाइलीले जानकारी दिए।

सरकारले अपाङ्गता भएका व्यक्तिलाई क, ख, ग र घ गरी चार समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अतिअशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङको परिचयपत्र प्राप्त गर्नेछन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *