छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

डिसी नेपाल
४ भदौ २०७६ २२:२२

काठमाडौं । कपिलवस्तु, सप्तरी, चितवन र नवलपरासी (पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका १ गौरीचोकस्थित तौलिहवा–जितपुर सडकखण्डमा मंगलबार राति ग १ ख ६२३७ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बसमा सवार सोही नगरपालिका शिवमन्दिर टोल बस्ने २४ वर्षीय सुजित बर्माको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

बस सहित चालक कास्की पोखरा महानगरपालिका १७ बस्ने ४८ वर्षीय राजिन्द्र कुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारस्थित पूर्व–पश्चिम राजमार्गमा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने १८ वर्षीय बिजय स्माती मगरको मंगलबार राति मृत्यु भएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस सहित चालक उदयपुर, उदयपुर नगरपालिका ५ बस्ने ३१ वर्षीय सन्तोष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै चितवनको राप्ती नगरपालिका–४ लक्ष्मीनारायण मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा बा १८ च ९४९६ नम्बरको स्कारपियो जिपको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। जिप र चालक नुवाकोट बागेश्वरी गाउँपालिका ४ बस्ने २१ वर्षीय राजकुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–२ ज्यामिरेको उकालोस्थित पूर्व–पश्चिम राजमार्गमा आरजे ०५ जिवि ४१६७ नम्बरको ट्रक आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रक चालक भारत उत्तर प्रदेश जोगारा बस्ने ३५ वर्षीय सुल्तान सिंहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्रकका सहचालक भारत घर भएका ३१ वर्षीय जोगेन्द्र सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *