स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा शुरु

डिसी नेपाल
८ भदौ २०७६ १०:३५

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ। मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ।

गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र पैसाको बचत भएको दरवाङकी कमला विश्वकर्माले बताए। “बेनी जान–आउन पूरै दिन लाग्ने थियो। रु दुई, तीन हजार खर्च हुन्थ्यो”, उनले भने, “गाउँमै सेवा पाएपछि सजिलोका साथै समय र पैसाको बचत भयो।”

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको रु २० लाख सहयोगमा मालिका गाउँपालिकाले अल्ट्रासाउण्डलगायतका उपकरण खरीद गरेर केन्द्रलाई उपलब्ध गराएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए। अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैली, मिर्गौला, मूत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज भएको केन्द्रका डा. तिलक गौतमले बताए।

रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रूपमा सेवा पाएका उनले बताए । अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशुलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रलीसमेत उपलब्ध गराइएको छ । केन्द्रबाट गत आर्थिक वर्षमा १६ हजार जनाले सेवा लिएका थिए।

स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउन विद्युत्को वैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक रहेको स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश श्रेष्ठले बताए।

सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्यसेवाको गुणस्तर सुधारका लागि दरबन्दीअनुसारका जनशक्ति, उपकरण र पूर्वाधारमा जोड दिएको बताए। गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य संस्था र अस्पताललाई रु ३२ करोड मूल्यका उपकरण सहयोग गरेको उनले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *