राष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा हस्तक्षेप गरेको चर्चाका बीच किन शितल निवास पुगे प्रचण्ड?

डिसी नेपाल
८ भदौ २०७६ १७:४८

काठमाडौं। सत्तारुढ दल नेकपामा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गरेको चर्चाका बीच आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्। आइतबार बिहान शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डाबीच करिब १ घण्टा वार्ता भएको जनाइएको छ।

राष्ट्रपतिको निजी सचिालयका एक अधिकारीले डिसी नेपाललाई भने, ‘उहाँहरुबीच समसामयिक राजनीति र प्रधानमन्त्री ज्यूको स्वास्थ्यबारे छलफल भएको हो।’ उनले नेकपाको आन्तरिक राजनीतिबारे छलफलबारे भने आफुलाई केही जानकारी नभएको बताए ।

तत्कालीन एमालेकी उपाध्यक्ष रहेकी भण्डारी पार्टीको राजनीतिबाट औपचारिक विदा लिएको देखिए पनि बेला बेला पार्टीमा चासो राख्ने गरेको देखिएको छ। गएको संसदीय र प्रदेससभा चुनाव ताका उम्मेदवारको टिकट वितरणमा पनि राष्ट्रपति भण्डारीले हस्तक्षेप गरेको चर्चा थियो। पछिल्लो चर्चा भने नेकपाको समीकरण परिवर्तनमा उनको भूमिकाको हो । नेकपा निटक पत्रिका बुधबार साप्ताहिकले राष्ट्रपति भण्डारी र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली मिलेर अर्का नेता माधवकुमार नेपालसँग बदला लिएको जनाएको थियो ।

राष्ट्रपति बनेपछि पार्टी राजनीतिबाट टाढा हुनुपर्ने भएपछि आवरणमा राष्ट्रपतिले राजनीति त्यागेको देखिए पनि पर्दा पछाडिबाट भने राजनीति गरिरहेको नेकपाकै नेताहरु बताउँछन् । यही परिवेशमा आइतबार नेकपा अध्यक्ष दाहाल र राष्ट्रपति भण्डारीबीच भएको वार्तालाई नेकपाको आन्तरिक राजनीतिसँग जोडेर हेरिएको छ। अध्यक्ष तथा प्रधानमन्त्री ओली उपचारका लागि देश बाहिर रहेको अवस्थामा अर्का अध्यक्ष दाहालले राजनीति भेटभाटलाई तिब्रता दिएका छन् । उनले ओली सिंगापुर उडेपछि वरिष्ठ नेता नेपाल र उपप्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलसँग पनि छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रधानमन्त्री ओली सिंगापुर जाने दिन भएको पार्टी सचिवालयको बैठक तिक्ततापूर्ण रुपमा सकिएपछि नेकपाको आन्तरिक राजनीतिमा तरंग उत्पन्न भएको छ। त्यो बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच तुच्छ शब्दमा विवाद भएको सार्वजनिक भइसकेको छ । एक अध्यक्ष विदेशमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डको दौडधुपका विभिन्न अर्थहरु निकालिएका छन् । एक पार्टी भित्र बढेको वैमनश्यतालाई कम गर्ने । अर्को भावी प्रधानमन्त्रीका लागि वातावरण तयार पार्ने । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठिक नरहेको बेला प्रचण्डको सक्रियता बढेको हो । त्यसमाथि अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा पार्टी बैठकको अध्यक्षता प्रचण्डले गर्न सक्ने अनुमति दिएर गएका छन्।

दाहाल–भण्डारीको भेटवारे दुबै पक्षले स्पष्ट बताउन नचाहेकाले यो विषय केही दिन गोप्य रहे पनि आगामी दिनमा भने खुल्दै जाने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *