‘सुदूरपश्चिम विकास: फलाम रोपौं, हिरा फलाऔं’ – Dcnepal

‘सुदूरपश्चिम विकास: फलाम रोपौं, हिरा फलाऔं’

अमेरिका । “विष्णु तिम्रो घर बझाङ हैन?, सुदूरपश्चिम को देउडा साह्रै मिठो हुन्छ रे ल एउटा देउडा सुनाऊ न हामी सबैलाई”, नेपालीहरूको भेटघाट गर्न राखिएको शुक्रवारको मम पार्टीमा सबिन दाइले आग्रह गर्नुभयो। मैले गाएँ,

डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साँफे…
खप्तड पाटन उडाई लैजा नौउरंगी डाँफे!

आज म अध्ययनको सिलसिलामा भूगोलको पश्चिमी गोलार्धमा भएपनि सपनामा म मेरो जन्मस्थल सुन्दर सुदूरपश्चिममै विचरण गरिरहेको हुन्छु। कहिले खप्तडका पाटनमा दौडिरहेको हुन्छु, कहिले मस्टा, कैलाश र मालिका पुग्छु। कहिले सेती, कालीका बगरमा विचरण गरिरहेको हुन्छु त कहिले गौरा पर्वमा देउडा खेल लगाउँदै नाचिरहेको हुन्छु। मलाइ लाग्छ, साँच्चै नै मेरो सुदूरपश्चिम भू-स्वर्ग नै हो!

यो प्राकृतिक साधन स्रोत हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्यका आधारभूत सेवा-सुविधा र रोजगारीका अवसर नहुँदा म जस्तै लाखौँ पश्चिमेली युवा विदेशीन बाध्य छन्। निन्द्राको सपनामा पश्चिम त देखिरहन्छु, तर आजकल मेरो एउटा अर्को सपना छ जसले मलाई आरामका साथ सुत्न दिँदैन, त्यो हो, सुन्दरका साथ-साथै मेरै जीवन कालामा संवृद्ध सुदूरपश्चिम देख्ने।

पछिल्लो समयमा मेरो सुदूरपश्चिमलाई हाम्रै पुस्तामा संवृद्ध कसरी बनाउने भन्ने बारेमा बझाङ, अछाम ,डडेलधुरा, कैलाली लगायत देश-विदेशमा रहेका नेपाली युवा साथीहरूसँग प्रत्यक्ष र सामाजिक सञ्जाल मार्फत परिचय अनि कुराकानी भई रहेको छ।

नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ। भौतिक रूपमा सबै जना नेपाल फर्किन नसके वा नचाहे पनि आज विदेशमा रहेका लाखौँ नेपाली मनहरू देशको लागि केही गर्ने चाहनाले ओतप्रोत भएको देखेको छु मैले। उनीहरू सँग साधन, स्रोत, र पुँजी छ तर आफ्नै गाउँ-ठाउँमा त्यो पुँजी परिचालन गर्न समय र स्थान छैन।

अर्कोतिर गाउँ-घरमै केही गर्न चाहने युवा मित्रहरू छन् जो सँग समय र जोस-जाँगर त छ तर अवसर अनि साधन-स्रोत छैन। यदि आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा संवृद्ध बनाउने साझा सपना बोकेका यी सब युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय आर्थिक विकास दिगो हुनसक्छ।

गाउँठाउँका सफल उद्यमी र समाजसेवी युवाका उदाहरणहरू

एकातिर हाल अमेरिकाको न्यूयोर्क निवासी डडेलधुराका टेक खड्का, कोरियामा भएका दीपक जोशी, मुम्बई निवासी अछामका गङ्गा प्रसाद भट्टराई, दिल्लीमा बसोबास गरिरहेका बझाङका हरीष ढाँट, हाल बैंगलोर स्थित प्रतापी बिस्ट जस्ता युवाको केही समयपछि नेपालमै आ-आफ्नै गाउँठाउँमा आफ्नो योग्यता दक्षता अनुसारको उद्यम गर्ने गराउने योजना छ।

अनि अर्कोतिर नेपालमै बसेर बझाङका अशोक मल्ल जस्ता युवाहरू स्वास्थ्य क्षेत्रमा जनसेवामा समर्पित भई बाल-आश्रम बनाउने जस्ता परोपकारी कार्यमा समर्पित छन्। आफ्नो परोपकारी संस्था नेपाली मनको बारेमा मल्लजी भन्छन्, ‘समाजमा आफ्नै प्रतिष्ठित पेसा भएका व्यवसायी र उद्धमी युवाहरू मिलेर सुरु गरेको यो संस्थामा हामी स्वइच्छाले समय, श्रोत र सके जति पुँजीगत सहयोग गर्दै आएका छौँ।’

देश-विदेशमा छरिएर बसेका फराकिलो मन भएका केही दाताहरूले हृदय खुला गरेर हाम्रो कामको समर्थन र आर्थिक सहयोग पनि गर्ने गरेका छन्। हामी यो परोपकारी संस्थामा आएको रकमको एक पैसा पनि हाम्रो व्यक्तिगत काममा लाग्दैनौं। केही शुभेच्छुक मित्रहरूले विवाह भोज, पार्टीहरूमा खर्च घटाई हामीलाई सहयोग गर्नुभएको छ।’

अहिले बझाङ जिल्लाका असहाय, द्वन्द्व पीडित र अनाथ बालबालिका हरुको लागि उचित शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था गर्ने गरी जयप्रिथ्वी बहादुर नगरपालिका वडा नम्बर ९ मा सुविधा सम्पन्न ५ कोठे भवन निर्मांड अन्तिम चरणमा पुगेको छ। यसलाई दिगो बनाउन स्तहनिय र प्रदेश प्रशासन सँग सहकार्य पनि गरेका छौँ। हामी दृढ सङ्कल्प, एकता र उदार हृदय भए आफ्नै गाउँठाउँमा परोपकारी काम गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छौँ।’

त्यस्तै, कैलालीका चुन्नू केसीजस्ता युवाहरू आफ्नै स्वतन्त्र उखु जुसको व्यवसाय गरी भविष्यमा तेस्लाई सञ्जालको रूपमा बिस्तार गर्ने योजनमां छन्। चुन्नुजी भन्छन्, “युवा उधमशिल भए देश समृद्ध हुन्छ। चुन्नु जुस पसलको उद्देश्य युवाहरू लाई स्वाबलम्वन र स्वरोजगार तर्फ बढाउने हो। अरबमा बरफ बेच्नु भन्दा देशमै सुन फलाउने हो। समाज परिवर्तन मा केही सहयोग होस र दिन दुखी हरुको भलो होस भन्ने उद्देश्यका साथ समाज सेवामा आम्दानी को २५% लगाउने हो। आफ्नो लागि त सबै ले गर्छन् तर हामी मानव सामाजिक प्राणी भएपछि अरूको लागि गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’

गाउँठाउँमा उद्यम गर्न चाहनेहरूका चुनौतीहरू:

पत्रकारितामा स्नातक गरी ३ वर्ष पत्रकारिताको अनुभवका साथै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर समाजमा खबरदारी र सेवामुखी काम गर्दै आएका बझाङ बित्थड़चिर गाउँपालिकाका हर्क ढाँटले भेट्नेरीको अध्ययन गरी, १० ओटा बाख्रा लिई सानो पायलट प्रोजेट सुरु गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “मलाई ४१,००० महिनाको जागिरको प्रस्ताव आएको थियो तर म आफ्नै गाउँठाउँमा स्वतन्त्र व्यवसाय गर्न चाहन्छु। मेरो १० बाख्राको फार्मलाई १०० बाख्राको बनाई म एक वर्षभित्र आत्मनिर्भर व्यवसायी बनी समाज सेवा गर्न चाहन्छु। तर मलाई जिल्लाका व्यतिय संस्था र बैङ्कले ऋण दिएनन्, गाउँका साहुकारहरू चर्को व्याज माग्छन्, इष्टमित्र साथीहरू सहयोग गर्छु भन्छन् तर उनका आ-आफ्नै समस्या छन्।’ यस्ता विविध समस्याहरूले गाउँका दक्ष, उद्देमी युवाहरू निराश छन्।

त्यस्तै परदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्ने प्रण लिएर कैलाली बहुमुखी क्यम्पस र रेडक्रस जस्ता संस्थाहरूमा पनि संलग्न भई रक्तदान र अन्य समाजमा चेतानामूखी कार्यक्रमहरू सञ्चालन गर्दै आएका कैलालीका उर्जावान युवा समीर जोशी आधुनिक प्रविधिको प्रयोग गरी माछा, गाई, हाँस कुखुरा पालन गरी यसबाट निस्किने प्राङ्गारिक मल प्रयोग गरी ओर्गानिक तरकारी फलफुल खेती गर्दै आफ्नो क्षेत्रलाई माछा मासु तथा तरकारी फलफुलमा आत्मनिर्भर बनाउन चाहन्छन् र यस्तो बहु-उदेश्यीय फार्म सञ्चालन गर्न लगानी कर्ताको खोजीमा छन्।

हर्कजी र समीर जस्ता उद्यमशील युवाहरूको प्रयासलाई समर्थन गर्न मैले काठमान्डु अनि विदेशमा बसेर व्यावसायिक सफलता आर्जेका नेपाली र नेपालप्रति लगाव राख्ने आप्रवासी नेपालीहरूसँग मैले गाउँ-घरका समस्याहरूप्रति संवेदनशील भई तिनको समाधान गर्न रचनात्मक भूमिका निभाउन अनुरोध गरिरहेको छु।

परदेशमा भएका धेरै युवा मित्रहरू आर्थिक क्रान्ति ल्याउनमा इच्छुक हुनुहुन्छ। आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरी नेपालमै केही उद्योग-व्यवसाय खोल्ने इच्छा दर्साउनु हुन्छ। तर यो सिक्काको अर्को पाटो पनि छ।

विदेशमा बस्ने नेपालीको वस्तुगत स्थिति र नेपालमा बस्ने आफन्तहरूको भ्रम पूर्ण बुझाई:

दैलेख-सुर्खेत-काठमाडाैं हुँदै हाल अमेरिकाका नागरिक महेन्द्र सापकोटा भन्छन्, “विदेशमा कति दुःख गरेर, दिनरात काम गरी, नखाई नलाई हामी कमाउँछौँ, नेपालमा आफन्त यहाँ डलर रूखमा टिप्न पाइन्छ भन्ठान्छन्। हाम्रो पैसाको गन्ती नै छैन! छैन भने पत्याउँदैनन्, नदिए रिसाउँछन्, दिए जति दिए पनि पुग्दैन।” यस्तो सहयोग दिगो रुपमा चल्न सक्दैन।

अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ-आफ्नै गाउँ-ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सृजना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आज सामाजिक सञ्जालको जमाना छ। आउनुहोस् विदेश बस्ने आफन्त साथीभाइलाई आई-फोन, डीएसएलआर क्यामरा मात्रै नमागौं। चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौं। आउनुहोस् लगानी गर्नुहोस् भनौँ !

विदेश बसेर पनि सदा देशको बारेमा चिन्ता गरिरहने काठमाडाैँका हाल नब्रास्का निवासी स्वदेश सुबेदी सँग मैले विदेशमा बसोबास भएका या आप्रवासी नेपालीहरूले नेपालको गाउँघरमा केही व्यापार, फार्ममा लगानी गर्ने सम्भाव्यताको कुरा गरेको थिएँ। स्वदेश दाइ भन्छन्, ‘मुख्य कुरा विश्वास, पारदर्शिता र नेटवर्कको हो। व्यक्तिगत रूपमा मैले तिमीलाई विश्वास गरेर यहाँ लगानी गरौँला, तिमीले कसै अरूमाथि विश्वास गरेर नेपालको गाउँ-घरमा लगाउला तर भोलि त्यो लगानी डुब्यो भने को जिम्मेवार हुने ? त्यो लगानीले रचनात्मक उद्यम भइरहेको छ या कसैले रक्सी खाएर उडाउँदै छ यसको अनुगमन कसले गर्ने?’

यस्ता पक्षहरू लाई सम्बोधन गर्न सक्ने वैधानिक संस्था या सञ्जाल हुनुपर्छ तब मात्र यो हातेमालोको सपनाले मूर्तरूप लिन सक्छ।पछिल्लो समयमा नेपाल फर्कौं महाअभियान त्यस्तै सञ्जालको रूपमा विकसित हुँदै छ।

के गर्दै छन् त नेपाल फर्केका अभियन्ता?

बिनिशा श्रेष्ठ, हेमराज ढकाल र राजेन्द्रप्रसाद पंगेनीजस्ता युवा नेपाल फर्कौं महाअभियानमा सक्रिय छन्। उहाँहरू अभियानको वेबसाइट तयार गरेर फर्कन चाहनेहरूको योग्यतालाई लक्षित गरी टिम निर्माण, सम्पर्क बिस्तार, सामूहिक लगानी तथा परामर्श मार्फत नेपाल फर्किन चाहने र फर्की सकेकाको लागि उत्प्रेरणाको काम गर्दै आउनुभएको छ।

बिनिशा भन्छिन्, ‘विदेश पठाउने सयौँ सङ्घसंस्था छन्। तर नेपाल फर्की आफ्नै देशमा केही गरौँ भन्ने चाहना भएका नेपालीलाई फेरि नेपालमै स्थापित हुन सहयोग गर्ने, उनीहरूका अधिकार सुरक्षित गर्ने, उद्योग-व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन मद्दत गर्ने संस्थाको रूपमा नेपाल फर्कौं महाअभियानलाई विकसित गर्दै लैजाने हाम्रो लक्ष्य हो।’

हेमराज जी भन्नुहुन्छ, “७ नम्बर प्रदेशको लागि कुनै पायलट प्रोजेक्टको थालनी गर्नका लागि हाम्रो पहिलो कदम एउटा गतिशील र ग्राहक मैत्री मञ्चको स्थापना गर्नु हुनेछ जहाँ हरेक सदस्य एक-अर्कासँग सजिलै संवाद गरी जोडिन सकोस्। मैले त्यस्तो मञ्च सञ्जालको निर्माण गरिसकेको छू र यस्तै सोच भएका व्यक्तिहरू यदि ठोस योजनाका साथ सहकार्य गर्न इच्छुक छन् भने यो मञ्चको ढोका खुल्ला छ। यो मञ्चले धेरै फाइदा गर्न सक्छ। उदाहरणका लागि म यसका दुई प्रमुख फाइदाहरूको चर्चा गर्न चाहेँ।

पहिलो, यो मञ्चले लगानीकर्ताहरू लाई सम्भावित परियोजनाहरूको पहिचान र छनोट गरी लगानी गर्न मद्दत गर्छ। दोस्रो, यो मञ्चले समान विचार भएका व्यक्तिहरुला बिच विश्वास र कुनै परियोजनामा मैत्री पूर्ण सहकार्यको प्रवर्धन गर्नेछ। सङ्क्षेपमा भन्नुपर्दा, यो मञ्चले दुइटै महत्त्वपूर्ण पाटाहरू। लगानी कर्ताको पहिचान र परियोजना सञ्चालन लाई एउटै धरातलमा उभ्याउने छ।’

राजेन्द्र दाइ भन्छन् “हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौँ भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो।

आफ्नो गाउँ–ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न मुस्किल नै हुन्छ। यसको लागि आफ्ना गाउँबाट बिदेसिएका व्यक्तिहरूले सामाजिक सञ्जालको सदुपयोग गरेर एउटा सञ्जाल निर्माण गरौँ। गाउँमै गएर केही गर्ने वातावरण निर्माण गरौँ। यही सञ्जाललाई मूर्तरूप दिन नेपाल फर्कौं अभियान अन्तर्गत हामी एउटा पायलट प्रोजेक्ट सुदूरपश्चिममा सुरु गर्ने बिचार गरेका छौँ।

सुदूरपश्चिम विकास तथा लगानी मञ्च स्थापनाको अवधारणा:

प्रधानमन्त्री रोजगार योजनाको बजेट असारे घाँस काटेरै सक्कियो। कर्णाली प्रदेशका मन्त्रीहरूलाई गाडी किन्ने फुर्सद छैन। अब हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला आयो। आउनुहोस् हामी सबै मिली एउटा यस्तो मञ्च संरचना तैयार गरौँ जहाँ व्यक्ति, समाज र राष्ट्र सबैको भलो होस्।

आउनुहोस् आत्मनिर्भरता तर्फ बामे सरी रहेका हाम्रा गाउँठाउँका दाजुभाइहरूलाई सहयोगको हात बढाऔँ। वहाँहरूलाई आफ्नै खुट्टामा उभिन मद्दत गरौँ। सुदूरपश्चिम विकास तथा लगानी कोष स्थापनाको विस्तृत कार्ययोजना निर्माण र समीक्षा अहिले केही विज्ञ र ढृढसंकल्पित साथीहरू माझ भइरहेको छ।

सङ्क्षेपमा: गाउँ ठाउँ सुहाउने मौलिक नयाँ व्यापार, व्यवसाय चलाउने विचार र योजना हरूमाथि पनि छलफल गर्ने र सञ्चालन ल्याउन चाहिने बौद्धिक र सीप भएका युवाहरू बिच सकारात्मक बहस र सहकार्य गर्ने थलोका रूपमा यो मञ्चलाई विकसित गर्दै लाने हो।

देश-विदेशमा रहेका नेपाली नेपाली मूलका नागरिक हरूले सामूहिक लगानी गरी एउटा कोष स्थापना गर्ने। कोषमा अनुदान दिने र लगानी गर्ने सबै दाताहरू सहितको कोष सञ्चालन समिति बन्ने जसले गाउँ-ठाउँ बाट व्यवसाय, फार्म सञ्चालन गर्न आएका प्रस्तावहरू माथि छलफल गरी, स्थलगत निरीक्षण गरी, बहुमतले पारित भएमा उक्त योजनाको सफल हुने सम्भाव्यताको आधारमा त्यसमाथि लगानी गर्ने।

लगानी किस्तामा स्थलगत प्रगतिको अनुगमन अनुसार निरन्तरता दिने नदिने निर्णय बहुमतको आधारमा गरिने। सङ्घीय सरकार, स्थानीय सरकार र समान बिचार भएका सङ्घ-संस्थाहरू सँग पारदर्शी रूपमा सम्भव भएसम्म सहकार्य गरिने। व्यवशायहरु चली नाफा हुन थालेपछि लाभप्रार्थीले आफ्नो लाभको केही अंश ऐच्छिक अनुदान यो लगानी कोषमा गरी यसलाई दिगो र नाविकरनिय बनाउन मद्दत गर्न सक्नेछन्।

यहाँ जाती, प्रदेश या राजनैतिक आस्थाका आधारमा भेदभाव गरिने छैन। सेवा, स्वावलम्बन को प्रोत्साहन, पारदर्शिता र नवीकरनीयता यस कोषका चार प्रमुख स्तम्भ हुने छन्। यसबारे विस्तृत रूपमा म आउने स्तंभाहरुमा निरन्तर लेख्ने छु। प्रतीक्षा गर्नुहोला…

कतिलाई हाम्रो जीवन यहाँ चलेकै छ, हामी किन टाउको दुखाउने भन्ने पनि लाग्ला। तर के हाम्रो आफ्नो गाउँ ठाउँ र देशप्रति दायित्व छैन? के हाम्रो विज्ञता, साधन स्रोत र विदेशको बसाई दुई चार पैसा कमाई महँगा गाडी र फोनहरू किनी, देश विदेश घुमेका सेल्फी र लाइभ विडीओहरु सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमैंट्स गन्दै बस्नका लागि मात्रै हो?

होइन भने आउनुहोस् आफ्ना गाउँ ठाउँका दाजुभाइहरूलाई मद्दत गर्न अघि सर्नुहोस्! यहाँनेर म अमेरिकामा उच्च शिक्षा, त्यसपछि देश बनाउने प्रबल इच्छा भएर फर्केकी सफल उद्यमी तथा कुशल गृहिणी समीक्षा, समीक्षा बास्कोटाको कविताका केही हरफ प्रस्तुत गर्न गइरहेको छु।

दुवै आँखा खोलेर म देख्दछु – एउटा सपना
आफ्नै बारी खनेको सपना
आफ्नै खेत जोतेको सपना
आफ्नै उद्यम गरेको सपना
देशमै पसिना बगाएको सपना
कोरिया, कतार जानेको लर्को- घटेको सपना
अमेरिका, बेलायत उडेको मन
नेपालमै बसेको सपना
आउनुहोस् यो सपना साकार पारौँ!

तर कतिले हामीले यहाँबाट एक दिन माछा दिएर पुग्छ पनि भन्लान्। हो हामीले एक दिन माछा वितरण गर्ने गोष्ठी या रोपाईछोड़ी मध्य असारमा १५ दिन घाँस उखेल्ने रोजगारको परिकल्पना गरेका हैनौँ! आउनुहोस् बल्छी दिऊँ, जाल दिऊँ, मारिएका माछा भन्दा पनि जिउँदा रोहू, कटला र असलाका जोडी दिई मत्स्य-पालनलाई प्रोत्साहन गरौँ। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ!

सरकारले यस वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरेको छ।आउनुहोस् सुन्तला, कागती, स्याउ, लिची र आँपका बिउ बाँडौँ। हुन त ई बिउ लगाउने सर्वोत्तम समय १० वर्ष अघि थियो। त्यसो गरेका भए आज विषादीयुक्त फलफुल भित्र्याउनु पर्दैन थियो होला। तर १० वर्ष नेताले संविधान र युवाले कंसल्टेंसी धाउनमै बिताए! याद राख्नुहोस्, फलफुल लाउने सर्वोत्तम समय १० वर्ष अघि भए पनि दोस्रो उत्तम समय आज, अहिले हो!

आज बीउ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ।आज हामीले आफ्नो गाउँठाउँमा गरेको योगदानले स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्‍यो भने भोलि हाम्रा भाइबहिनी, छोरानातीले आफ्नो गाउँ ठाउँ छोडी बिदेसिनु पर्ने बाध्यता कम हुनेछ। देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ।

आउनुहोस् नेपाल फर्कौँ महाअभियानको पवित्र गङ्गाको पानी लिई आ-आफ्नै गाउँठाउँका बाँझा खेतबारीमा उद्यमशीलताको रोपाई गरौँ।

 

बिष्णु प्रसाद जोशी

ठेगाना : खप्तड छान्ना गाउँपालिका ५ बझाङ्ग
हाल : यूनिवर्सिटी अफ म्यसचुसेट्स, अमेरिका

ट्वीटर:@BishnuJoshi999

(नाेट: यस स्तम्भमा वर्णित सबै घटना र पात्र वास्तविक हुन्। म जस्तै लाखौँ नेपाली युवाको जीवनी सँग मेल खाएमा केही संयोग हुनेछैन!)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो