घुस लिएको अभियोगमा मालपोतका नासुविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोग लागेको छ।
निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले मावि रझेना घोराही दाङमा कार्यरत शिक्षक गणेश केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिप्लोमा इन सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिने भन्दै शिक्षक केसीले विद्यार्थीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ।
त्यस्तै आयोगले नगराइन नगरपालिका, धनुषाका सब इञ्जिनीयर उमेश मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभिन्न योजनाको कार्य सम्पन्न भई रकम भुक्तानी लिन सहज गराइदिने बहानामा सेवाग्राहीसँग मण्डलले रु ५५ हजार घुस लिएको अभियोग लागेको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment