‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ शुक्रबारबाट हुने

डिसी नेपाल
११ भदौ २०७६ १८:३०

काठमाडौं । नेपाल क्योकुशिन–कान कराँते संघले यही भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ गर्ने भएको छ।

संघले उक्त प्रतियोगिता सञ्चालन गर्न पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा भएको बताएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो संघको आयोजनामा विभिन्न १७ वटा फुल कन्ट्याक्ट कराँते संघहरु तथा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि तीन वटै विभागीय टिमसहित कुल १० टिमले सहभागिता जनाउने यस प्रतियोगितामा महिला र पुरुष गरि जम्मा १४ तौल समूहमा विभाजन गरिएको छ।’

संघका महासचिव तथा ब्रान्च चिफ राजेन्द्र सुवेदीका अनुसार हरेक टिमले एउटा तौल समूहमा एक जना मात्रै खेलाडी प्रतिष्पर्धामा सहभागी गराउनेछन् भने कुल २७६ जना प्रतिष्पर्धी खेलाडीहरुले भाग लिनेछन्। त्यसैगरी, विभिन्न २६ संघका ३६ रेफ्रीले आफ्नो निर्णायक भूमिका निर्वाह गर्नेपनि उनले जानकारी दिए।

संघका अनुसार उक्त प्रतियोगिता नेपाली कराँते जगतकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ। विभिन्न फुल कन्ट्याक्ट संघहरु र विभागीय टिमलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सञ्चालन गर्नु आफैंमा चूनौतिको विषय भएपनि सबै १७ संघका नेपाल प्रमुखहरुबीच सम्झौता भई यस्तो महान प्रतियोगिता आयोजना गरिनु नेपाली खेलकुद क्षेत्रको लागि नै सद्भाव र सहकार्यको उत्कृष्ट उदाहरण हुनेपनि संघको विश्वास छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘यस प्रतियोगिताले नेपालको राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानमा थप उर्जा मिल्ने कुरामा हामी विश्वस्त छौं‌। आगामी वर्षहरुमा पनि यसैगरि फुल कन्ट्याक्ट प्रतियोगिता सञ्चालन हुने कुरामा कुनै दुई मत छैन भन्ने कुरा हामी निर्धक्कको साथ भन्न सक्छौं। किनकी यो मलेमिलाप गहिरो अध्ययनपछि निस्किएको निचोड हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *