साफ यू–१५ः नेपाल र भुटान भिड्दै, फाइनल पुग्न भुटानलाई हराउनै पर्ने

डिसी नेपाल
१२ भदौ २०७६ ८:३४

काठमाडौं । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।

भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ । तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ ।

भुटानका लागि भने यस खेल अर्थहिन छ । तर नेपाललाई स्तब्ध बनाउदै भुटान सान्त्वना जित निकाल्न चाहन्छ । प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । त्यसअघि नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । नेपाल पहिलो खेलमा भने भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ६ अंक जोडेर तेस्रो स्थानमा छ । अन्तिम खेलमा बंगलादेशले बलियो भारतको सामना गर्नेछ । जसको कारण पनि भुटानलाई हराए नेपालको फाइनल यात्रा सहज हुनेछ ।

हेड टु हेडमा नेपालसँग बंगलादेश पछि परेको छ । बंगालदेशलाई फाइनल पुग्न भारतविरुद्ध कम्तिमा ४–० गोल अन्तरको जित निकाल्नु पर्ने हुन्छ । भारतलाई फाइनल पुग्न बराबरीले पुग्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *