तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक – Dcnepal

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक

फाइल फाेटाे।


इनरुवा। इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आएका छन्। आफूसँग भएको सात कठ्ठा जग्गामा उनले तरकारी खेती गरेका छन्।

व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा उनले मौसम अनुसारको निर्वाहमुखी तरकारी खेतीजस्तै काउली, करेला, भण्टा, मुला, ओललगायतको खेती गर्दै आएको उनको भनाइ छ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृतको रुपमा तृपितनारायण मिश्र आएपछि तरकारी खेतीका विषयमा व्यावसायिक ज्ञान र प्राविधिक सहयोग गरेपछि अहिले आफूले चार बिघामा तरकारी खेती गर्दै आएको यादवको भनाइ छ।

विसं २०६३ मा अधिकृत मिश्रले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गरे। उनको आग्रहलाई स्वीकार गर्दै गोपीकृष्ण फलफूल कृषक समूह गठन गरेर आफूले कृषिमा अब व्यावसायिक बन्नुपर्छ भने हिसाबले लागेको उनले स्मरण गरे।

कृषक समूहको गठन गरेसँगै तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानको कार्यक्रम दिन थालेपछि आफूहरुलाई झन् कृषि पेशामा लाग्न प्रेरित गर्यो र अहिले आएर त्यसैको फलस्वरुप झुपडी तथा सात कठ्ठबाट शुरु गरेको तकारी खेतीले चार बिघा जग्गा लिएर तरकारी खेती गर्दै आएको उनको भनाइ छ। तरकारी खेतीबाट वार्षिकरूपमा रु १० देखि १२ लाख आम्दानी गर्दै आएको यादवले बताए।

उनीजस्तै सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का रामवृक्ष मेहताले दुईदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आएका थिए। तर, अहिले उहाँ १० बिघामा तरकारी खेती गर्दै आएका छन्।

जग्गा अभाव, आर्थिक अवस्था कमजोर र ज्ञानका अभावका कारण दुईदेखि पाँच कठ्ठामा निर्वाहमुखी तरकारी खेती गर्दै आएको उनले सम्झिए। उनलाई पनि विसं २०६० मा कार्यालयका बागवानी विकास अधिकृतले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गरेकाे स्मरण गरे।

उनको आग्रहलाई स्वीकार गर्दै अनुपम तरकारी तथा फलफूल कृषक समूह गठन गरेको मेहताले बताए। कृषक समूह गठन गरेपछि कार्यालयबाट विभिन्न किसिमको अनुदान आउन थालेपछि व्यावसायिक तरकारी खेती गर्न शुरु गरेको उनले जानकारी दिए। अहिले तरकारी खेतीबाटै १० बिघा जग्गा किनेर त्यसमा व्यावसायिक तरकारी खेती गर्दै आएको मेहताको भनाइ छ।

आफूले अहिले चार बिघामा ओलखेती, १० कठ्ठामा परवल, १० कठ्ठामा पिँडालु, १० कठ्ठामा बैगुनलगायत गरेर १० बिघामा तरकारी खेती गर्दै आएको मेहताले बताए। तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ। शुरुमा खानलागाउनका लागि समस्या हुँदै आएकामा तरकारी खेतीले नै अँध्यारोमा रहेको जिवनलाई उज्यालोतर्फ ल्याएकामा उनले हर्ष व्यक्त गरे।

तरकारी खेतीबाट आएको आम्दानीले अहिले विराटनगर, इनरुवा गाउँमा जग्गा जोड्नुका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएको मेहताको भनाइ छ। उनीजस्तै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का चन्दन मेहताको भनाइ पनि उस्तै छ। उनले पनि पहिले तीन कठ्ठामा निर्वाहमुखी तरकारी खेती गर्दै आएकामा अहिले आएर तीन बिघामा तकारी खेती गर्दै आएका छन्।

व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानका अभावका कारण निर्वाहमुखी तरकारी खेती गर्दै आएका थिए। तर ज्ञान प्राप्त भएपछि विस्तारै उनले व्यावसायिक तरकारी खेती गर्न शुरु गरे।

तरकारी खेतीबाटै आफूले वार्षिकरूपमा खर्च कटाएर रु १० लाखसम्मको आम्दानी गर्दै आएको उनको भनाइ छ। यी तीन जना त सुनसरीका लागि उदाहरणका पत्रमात्र हुन्। उनीहरुजस्तै जिल्लामा करीब तीन हजारभन्दा बढी कृषक तरकारी खेती गर्दै आएका छन्।

तरकारी खेती गर्ने कृषकको सङ्ख्या बढदै गएपछि जिल्लामा तरकरी खेतीबाट कृषकले सोचेअनुसारको आम्दानी गर्नसमेत सफल भएका छन्। पर्याप्त मात्रामा मलखाद्य नपाउनु, समयमा मजदुर नभेट्नु र बजारमा तरकारीको उचित मूल्य नपाउनुलगायतका विभिन्न समस्याका कारण आफूहरुलाई समस्या हुने गरेको तरकारी कृषक मेहताले बताए।

जिल्लामा वार्षिकरुपमा रु एक अर्बभन्दा बढीको तरकारीको कारोवार हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए। सुनसरीमा विसं २०५३ मा ५१२ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएकामा अहिले तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो