एनआरएनए आईसीसी युवा संयोजकमा स्वतन्त्र प्रताप शाहको दौडधुप

डिसी नेपाल
२० भदौ २०७६ १७:५९

काठमाडौँ ।  अक्टोबर १५ देखि १८ तारिखसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ।यतिवेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने चुनावको गर्मी निकै बढेको छ।सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आईसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

यसै क्रममा संघको युवा संयोजक पदमा युवा व्यवसायी स्वतन्त्र प्रताप शाह पनि चुनावी मैदानमा उत्रिएका छन्।विगत लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका शाह सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।

सुदूरपश्चिमको अछाममा जन्मेका शाह कलिलै उमेरमा अष्ट्रेलिया पुगेका थिए। उनले अष्ट्रेलिया तथा नेपालमा पनि व्यवसाय गर्दै आएका छन्। एनआरएनए अष्ट्रेलीयाको तीन कार्यकालसम्म उपाध्यक्ष पदमा रहेर काम गरेका उनी वर्तमान कार्यसमितिमा सल्लाहकारको जिम्मेवारीमा छन्।

व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्याएका शाहले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन् ।एनआरएनएको देश विदेशमा हुने प्रायः कार्यक्रममा र अभियानहरूमा उनी छुट्दैनन्।

उनी संघको आठौँ विश्व सम्मेलनमा पनि युवा संयोजक पदकै लागि प्रतिस्पर्धामा होमिएका थिए। तर, जीत भने आफ्नो पोल्टामा पार्न सकेनन्। अघिल्लो पटक मात्रै ७ भोटले पराजित भए।अघिल्लो निर्वाचनमा व्यापक तयारीका साथ नलागेर झिनो मतले हार व्यहोर्नु परेको उनको तर्क छ।अघिल्लो हारलाई उल्टाएर यसपालि युवा संयोजकको नेतृत्व सम्हाल्न आवश्यक तयारीसहित चुनावी मैदानमा उत्रिएको शाहले बताए। उनी आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै यसपटक युवा संयोजकको जिम्मेवारी आफैले पाउनेमा विश्वस्त छन्।

युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको भन्दै शाहले विभिन्न देशहरूमा छरिएर रहेका नेपाली युवाहरूको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने योजना अघि सारेका छन्। ‘देशभन्दा बाहिर जति पनि युवा छन् उनीहरुसँग एउटा ज्ञान,सीप र अनुभव छ, त्यसलाई कसरी नेपालमा रहेका युवाहरुसमक्ष पुर्याउन सकिन्छ,भन्ने मेरो प्रमुख एजेन्डा हो। विश्वभरमा रहेका नेपाली युवाहरूसँगको सहकार्यबाट देशको विकासमा योगदान दिनेछु,’ शाहले भने।

त्यस्तै शाहले युवाहरूलाई नेपालमै रोजगारीको अवसर सिर्जना गरेर उनीहरुको भूमिका स्वदेशमै बढाउन आफन्नो विशेष योजना भएकोसमेत बताए। यसको अलवा एनआरएन स्पोर्टस एकेडेमीको स्थापना गर्ने, नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाउने र युवालक्षित कार्यक्रम सञ्चालन गरेर विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्काउने जस्ता योजना शाहको प्राथमिकतामा छन्।

भिडियोमा हेर्नुस्: शाहसँग डिसीनेपालका लागि बिनेश खनालले गरेको अन्तर्वार्ता-

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *