जनतासँग जोडिँदै कांग्रेस, देशभर एक लाख युवासँग संवाद गर्ने लक्ष्य

डिसी नेपाल
२२ भदौ २०७६ ७:४१

काठमाडौं। गत निर्वाचनमा नराम्रोसँग पराजति बनेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस यतिबेला जनताबीचमा जाने बहानाको खोजीमा छ।

जनता र कार्यकर्तासँग सम्पर्क टुटेका कारण निर्वाचनमा पराजित भनेको कांग्रसले यतिबेला जनतासँग जोडिने कार्यक्रम गरिरहेको छ। कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियानमार्फत जनता तथा कार्यकर्तासँग एक चरणको सम्वाद गरिसकेको छ।

फेरि अहिले कांग्रेसले दोस्रो चरणको जागरण अभियानका क्रममा देशभर एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणको अभियानअन्तर्गत कांग्रेसले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित ‘विशेष संवाद’ कार्यक्रम गर्दै युवासँग संवाद गर्ने जनाएको छ।

कांग्रेसले पार्टीमा आवद्ध र पार्टी बाहिर रहेका युवासँग ‘देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भ’ विषयक खुला बहस आयोजना गर्ने जनाएको छ। बहस कार्यक्रमबाट नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघ लगायतका पार्टीका भ्रातृ संस्था र शुभेच्छुक संस्थामा आबद्ध युवा र अन्य असंगठित युवाका विचारहरू संकलन गरिने कांग्रेसले जनाएको छ।

भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर सुरु हुने जागरण अभियानको समापनका दिन कांग्रेसले बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तयारी गरेको छ।

‘३३० प्रदेशसभा क्षेत्रमा औसत ३ सय युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रमका क्रममा सम्प्रेषण गर्दा समग्रमा एक लाख युवासँग संवाद र सम्प्रेषण १५ दिनको अवधिमा हुनेछ,’ दोस्रो चरणको जागरण अभियान घोषणा गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने। युवा केन्द्रित विशेष संवाद आवश्यकताअनुसार प्रदेशसभा क्षेत्र, गाउँ–नगर र वडास्तरीयसमेत हुने उनले जानकारी दिए।

भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर सुरु हुने जागरण अभियानको समापनका दिन कांग्रेसले बढ्दो महँगी, वाइड बडी, न्यारो बडी प्रकरण लगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तयारी गरेको छ।

अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसले जनाएको छ। समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दाहरूलाई पनि प्राथमिकताका साथ उठाइने कांग्रेसले जनाएको छ।

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिले खटाएका प्रतिनिधिहरूले दोस्रो चरणको अभियानमा कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरू तय गरिएको जानकारीसमेत दिए ।

‘केन्द्रीय तहबाट अभियानका क्रममा केवल एउटा मात्रै सभा निर्धारण गरिएको छ,’ उनले भने, ‘त्यसबाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ।’

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम तय गरेको छ।

दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार विरुवा रोप्ने कांग्रेसले जनाएको छ। वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ विरुवा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गरिनेछ।

‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिएर १५ दिने दोस्रो चरणको अभियान सञ्चालन गर्न लागेको हो । यसअघि, कांग्रेसले वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

राष्ट्रव्यापी रूपमा पार्टी पंक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको कांग्रेसले प्रष्ट पारेको छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि र समृद्धिको दिशामा गरिएका कामका बारेमा नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्ने, वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायतका विसंगतिपूर्ण जनविरोधी क्रियाकलापका बारेमा आमनागरिकलाई प्रष्ट्याउने उद्देश्यसमेत राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *