साउदी अरब पुगेर कुमार पन्तले भनेः श्रमिक कल्याणकारी कोष परिचालन गर्छाैं
रियाद। गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले श्रमिक कल्याणकारी कोष परिचालन आगामी नेतृत्वको पहिलो प्राथमिकतामा रहने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्रको बलियो खम्बाका रुपमा रहेका खाडी मुलुकमा कार्यरत नेपाली कामदारको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषको परिचालन र विस्तारका लागि गैरआवासीय नेपाली संघले आफ्नो स्रोत र शक्ति एकीकृत गर्ने बताएका हुन।
नेपालमा सामुहिक लगानीको वातावरण बनिरहेको बताउँदै पन्तले भने, “साथीहरु हामीले सम्पूर्ण कानूनी अड्चन हटाएर अब १० अर्बको सामुहिक लगानीको लागि नेपाल सरकारसँग सहमति गरिसकेका छौँ ।” उनले पुन दोहोर्याए, “त्यो सामुहिक कोषमा तपाई हामी सबैको सानो सानो लगानी पनि समेटिनेछ ।” साना तथा मझौला लगानीकर्तालाई प्रवद्र्धन गर्ने लक्ष्य संघले राखेको उनले बताए।
श्रमिकको विषयमा संघले गम्भीरतापूर्वक सोचेरै श्रमिक कल्याणकारी कोषको स्थापना गरेको पन्तको भनाई थियो। श्रमिक कोषलाई निरन्तरता दिई थप बलियो अघि बढाउने रणनीति संघले अघि सारेको उनले बताए।
कोषमा हाल रहेको केही रकमलाई दोब्बर बनाउने लक्ष्य संघले लिएको र आगामी नयाँ नेतृत्वले समेत त्यसलाई पहिलो प्राथमिकतामा राखी परिचालन र विस्तारको लागि ठोस योजना ल्याई कार्यन्वयन गर्ने उनले उल्लेख गरे।
मध्यपूर्वी मुलुकबाट नेपालमा पठाइने रेमिटयान्स अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताउँदै उनले अब भने सो रकमलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।
नेपालीहरुले कमाएको धन र ज्ञान समग्रलाई नेपालमा भित्र्याउने र विदेशबाट नेपालमा फर्कदा समेत बेरोजगार बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ संघको ध्यानाकर्षण भइसकेको पन्तको भनाई थियो।
नेपाल सस्तो कामदार सप्लाई गर्ने मुलुक हो भन्ने विश्व श्रम बजारको भ्रम चिरेर दक्ष जनशक्रि उत्पादनका लागि सीपमुलुक तालिम समेत सञ्चालन गर्ने कार्यको थालनी भइसकेको पन्तले जानकारी गराए।
पन्तले गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली परिचय पत्र लिएर त्यसबाट प्राप्त गर्न सकिने सुविधा उपभोग गर्न साउदीका नेपाली समुदायको समेत ध्यानाकर्षण गराए।
संघलाई विश्वभर छरिएर रहेका ८० लाख नेपालीमाझ पुर्याउने लक्ष्य पूरा गर्न सबैले हातेमालो गर्न पन्तले आह्वान समेत गरे।
अध्यक्षका प्रत्यासी कुमार पन्त आफ्नो विश्व दौडाहा अन्तर्गत हिजो साउदी पुगेका हुन्। पछिल्लो समय मध्यपूर्वी क्षेत्रलाई प्राथमिकता राखी त्यहाँका नेपाली श्रमिकका मुद्दामा ध्यान केन्द्रित गरेका छन्।
श्रमिकको मुद्दा भिजन २०२० मै लिपिबद्ध भएकोले पनि आफूले उनीहरुको हकहित र विद्यमान समस्या समाधान गरिछाड्ने प्रतिबद्धता पन्तले पटक पटक दोहोर्याउँदै आएका छन्। यसअघि पन्तले कतार र त्यस लगत्तै मलेसियाको अधिवेशनमा समेत भाग लिएका थिए।
यूरोप संयोजक हुँदै आइसीसी महासचिव र दुई पटक उपाध्यक्षको सफल कार्यकालपछि पन्त आगामी निर्वाचनमा भने अध्यक्षका प्रत्यासी हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment