एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान

डिसी नेपाल
२२ भदौ २०७६ ११:४९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान
गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित एनआरएनए अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठक समितिका संयोजक एवं प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको हो।

विहीवार साइबर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजानिक सूचनालाई परिमार्जन सहित पारित गरेको हो।

बैठकले उक्त पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णय गरेको छ । बैठकले उच्चस्तरिय छनोट समितिबाट छनोट भएका उम्मेदवारलाई संघको आगामी अक्टोबरमा १५ देखि १७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको छ।

पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन्–

१. विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन/सन्चार गृहमार्फत गैरआवासीय नेपालीका बारेमा नेपाली वा अङ्ग्रेजी भाषामा कम्तीमा पाँचवर्ष लगातार मुलधारको मिडियामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरु पुरस्कारका लागि योग्य हुनेछन्।

२. विभिन्न सञ्चार माध्यममा गैरआवासीय नेपालीका बारेमा प्रकाशित लेख, रचना, समाचार आदि लगायत श्रव्य,दृश्य सामग्रीहरुको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिने छ।

३. गैरआवासीय नेपालीका जनजीवन लगायत तिनका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख, रचना तथा समाचारहरुलाई पुरस्कार छनौटमा प्राथमिकता दिइने छ।

४. तोकिएको अवधिभित्र इच्छुक पत्रकारहरुलाई तल उल्लिखित सम्पर्क ठेगानामा आफ्ना समाचार सामग्रीहरु पठाउन हुन अनुरोध गरिन्छ। यसैगरी, यदि कसैलाई कुनै पनि संचारकर्मीले गैरआवासीय नेपालीका बारेमा पत्रकारितामार्फत उल्लेख्य योगदान पुर्‍याएको भन्ने लाग्छ भने त्यस्ता व्यक्तिको नाम पनि पुरस्कारका लागि सिफारिस गर्न सकिने छ।

५. एनआरएनएको पदाधिकारी र एक पटक पुरस्कृत भैसकेको व्यक्ति पुरस्कारमा सहभागी हुन पाउने छैनन्।

६. पुरस्कृत व्यक्तिको छनौटका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता, गैरआवासीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके शाखाको परार्मशमा एक समिति बनाइने छ।

७. पुरस्कृत पत्रकारलाई एकल वा संयुक्त रुपमा जनही ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ प्रदान गरिने छ।

८. तोकिएको मिति भित्र आफूले लेखेको, प्रशारण गरेको, श्रव्य–दृश्य, समाचार, लेख रचनाहरुका प्रकाशित, प्रसारित सामग्रीहरु (बढीमा
तीनवटा) र सिफारिसहरु निम्न इमेलमा पठाउनु पर्नेछ।

९. सम्पर्क ठेगाना इमेल nrnaprize@nrna.org

१०. पुरस्कृत हुने व्यक्तिहरुको नाम www.nrna.org मा प्रकाशित गरिने छ।

११. आइपुग्नु पर्ने मिति— ३० सेप्टेम्बर, २०१९ ( नेपाली समयअनुसार राति १२ बजेभित्र)

१२. पुरस्कृत पत्रकारलाई अक्टोबर महिनामा काठमाडौंमा हुन गैरहेको संघको विश्व सम्मेलनका अवसरमा पुरस्कार प्रदान गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *