सन्दिप र सोमपालपछि थप ३ जना नेपाली खेलाडी अन्तर्राष्ट्रिय लिगका लागि दर्ता

डिसी नेपाल
२२ भदौ २०७६ १३:५८

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट लिगमा नेपाली खेलाडीको सहभागिता बढ्दै गएको छ । सबैभन्दा पहिले सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय क्रिकेट लिग खेल्न सुरु गरेका थिए । अहिलेसम्म आइपुग्दा सोमपाल कामी पनि क्यानडाको ग्लोबल टि–२० लिग खेल्न पाएका छन् । यी दुईबाहेक अन्य खेलाडीले भने अन्तर्राष्ट्रिय लिग खेल्न पाएका छैनन् ।

अब भने यसरी खेल्ने नेपाली खेलाडीको सम्भावना बढेको छ । यी दुईबाहेक दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र शरद भेषावकरको नाम पनि अन्तर्राष्ट्रिय लिगको खेलाडीको ड्राफ्टमा दर्ता भएको छ । पाकिस्तानी एजेन्ट साया कर्पोरेसनले सन्दीप र सोमपाल कामीसहित दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र शरद भेषवाकरको नाम पनि दर्ता गराएको छ ।

छोटो फर्म्याटको टी–१० क्रिकेटका लागि कर्पोरेसनले यी खेलाडीको नाम दर्ता गराएको हो । यसअघि पनि विभिन्न लिगहरुमा सन्दीपको नाम यही पाकिस्तानी एजेन्टले दर्ता गराउँदै आएको थियो । यसअघि ग्लोबल टी–२० मा सोमपाल कामीको नाम पनि यही एजेन्टले दर्ता गराएको हो । फ्रेन्चाइजी लिगमा खेलाडीको नाम दर्ता गराएबापत एजेन्टले केही शुल्क लिने गर्छ । यसरी नाम दर्ता भएका खेलाडीमध्येबाट कुनै पनि टिमले छानेर खेलाडी किन्ने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *