शिक्षामा आमूल परिवर्तनको खाँचोः उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
२२ भदौ २०७६ २१:११

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको जनशक्तिलाई विश्वप्रतिष्पर्धी बनाउन शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका छन्। ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि शिक्षाको रुपान्तरण जरुरी रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक, प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले आजको सन्दर्भमा सामान्य शिक्षा जीवनोपयोगी नहुने जिकिर गरे। “सरकारले शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेको छ, अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ, उत्पादन, श्रम, रोजगारी र स्वाभिमानसँग गाँसिएको कुरा हो”, मन्त्री पोखरेलले भने।

आगामी दिनमा जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने अठोटका साथ राज्यले निर्माण भएको शिक्षाको जगमा टेकेर सरकार अगाडि बढेको उनले बताए। ‘हामी सबैको प्रण, शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ दिवस मनाइएको थियो। उनले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्ने सरकरको मूल लक्ष्य रहेको भन्दै प्रणाली परिवर्तन गरेपनि जनताको चाहनाअनुसार सेवा प्रदान गर्न नसक्दा प्रश्न उब्जिएको उल्लेख गरे।

सन् २०२५ सम्ममा विकसित राष्ट्र बनाउने १५औँ आवधिक योजना कार्यान्वयनको चरणमा रहेको र सन् २०३० सम्ममा लैङ्गिक समानता हासिल गर्ने गरी गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने योजना कार्यान्वयनको थालनी भएको उनले बताए। उक्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै सरकार अझै रुपान्तरणको अभियानमा लागेको बताए।

विगतमा ‘साक्षर नेपाल’ भनेर अभियान चलाइएकामा आगामी दिनमा ‘शिक्षित नेपाल’ भन्ने नाराका साथ अभियान शुरु हुन लागेको जानकारी दिँदै उनले शिक्षाको सुधारका लागि सार्वजनिक विद्यालय सबलीकरण कार्यक्रम घोषणा गरिसकेको बताए। सिकाइ केन्द्रित शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, “अनुसन्धानमूलक, वैज्ञानिक, व्यावहारिक, बालमैत्री शिक्षा अवलम्बन गर्नु जरुरी छ, मन्त्रालय त्यही बाटोमा छ ।”

उनले शिक्षाको रुपान्तरणका लागि शिक्षकहरुले अगुवाइ गर्नुपर्नेमा जोडदिँदै राष्ट्रिय शिक्षा नीति पारित हुने तयारीमा रहेको र पाठ्यक्रम परिमार्जन गर्न लागेको समेत जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *