इन्डोनेशियामा बन्धक बनाइएकी नेपाली युवती यसरी फुत्किइन्

काठमाडौं। अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाइन् तर उनी अस्ट्रेलिया कहिल्यै पुगिनन्। यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन्? एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले बीबीसी नेपालीसँग कुरा गरेकी छन्ः

म नेपाल फर्किएको केही दिन भइसकेको छ। तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ। मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर। मेरो जीउ अझै थरथर काँप्छ। म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु।

मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि शुरु भएको थियो।

नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो। १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो। मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो।

म घरकी जेठी छोरी। अहिले २३ वर्षकी भएँ। घरमा आमा, बुवा र दुई भाइ छन्। घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ। काठमाडौंमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाइ भेटिए।

उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए। मेरो बुबा–आमा गाउँमा सामान्य खेतीकिसानी गर्नु हुन्छ। उहाँहरूसँग त्यति धेरै पैसा थिएन। जसोतसो ऋण खोज्ने कुरा भयो। हामीले घरजग्गा धितो राखेर एउटा बैङ्कबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ।

शुरुमा अस्ट्रेलिया लैजाने ती दार्इलाई डेढ लाख रुपैयाँ बुझाएँ। उनले ‘सेटिङ्ग मिलाएर’ उडिहाल्ने योजना सुनाए। २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दार्इ मलेशिया उड्यौँ। त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता पुर्‍याइयो। त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए। हामीलाई एउटा होटलमा लगेर राखियो।

त्यसपछि हाम्रो दुःख सुरु भयो। अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र ‘सेटिङ्ग’ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाब दिन थालियो। हामीले थप पैसा मगायौँ र बुझायौँ। तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन।

जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाइहरू पनि आउन थाले। हामी १३–१४ जना भयौँ। सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन। हामी छटपटाउँन थाल्यौँ। खाने र पिउने बन्दोबस्त पनि भएन। कोठामा थुनेर राखियो।

हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो। त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ। मैँले पटक पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ। तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन। त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो।

दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ। त्यहाँ पनि एउटा होटलमा राखियो। जहाँ खान पकाउन मिल्ने सुविधा थियो। तर हामीलाई राम्ररी खान पनि दिइएन। म रोएर बस्थे। नेपाली दाइहरुले नै खाना खोजेर ल्याइदिन्थे।

(बालीमा संसारभरिबाट मानिसहरु घुम्न जान्छन्।) हामीलाई कतै घुम्न जान पनि दिइएन। त्यहाँ पनि दिन बित्दै गयो। तर केही भएन। दाइहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ। तर केही भएन।

बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो। त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ। हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्‍यौँ। तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ‘ओभरस्टे’ भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो।

उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो।

हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो।

पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्‍यो। तर नेपाली दाइहरूले मलाई बचाउनु भयो। त्यसपछि म साह्रै विक्षिप्त र दुःखी भएँ। रोएर दिन र रात बिताउन थाले। कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ। तर नेपाली दाइहरूले आड भरोसा दिइरहनु भयो।

दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए। ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ। पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ।

मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ। एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाइ र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ। उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनु भयो। त्यसपछि म केही आशावादी भएँ।

भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनु भयो। रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो। उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु पर्‍यो र धेरै खर्च गर्नु भयो। भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनु भएछ।

उहाँले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो। (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन्।) अहिले म न्यायको पर्खाइमा छु। मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु।

म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ। मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुःख पाउन सक्थे। तर म आज बाँचेकी छु।

नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छः तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस्। इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस्। सबै कागजपत्र र बिल भर्पाई लिनुहोस्। अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्तामा जाल वा पासोमा नपर्नुहोस्। (बीबीसी नेपालीबाट साभार)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position