विभागीय क्लबको भिडन्तमा आर्मीको जित

डिसी नेपाल
२५ भदौ २०७६ २३:३२

काठमाडौं । दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा तथा पुलिसले आयोजक प्रगतिशिल युवा नेपाल क्लबलाई ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको खेलमा आर्मीले सफलता पाएको हो । प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बनेको आर्मीले प्रतिस्पर्धात्मक तेस्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेटमा एकसमय ४–१० ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ को जित निकाल्दै ३–१ को सेटमा जित हात पार्यो ।

बुधबारै समूह ‘बी’ मा उपाधिको दावेदार नेपाल पुलिस क्लबले आयोजक प्रगतिशिल युवा नेपाल क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१७, २५–१८ र २५–१५ को सहज जित निकालयो ।

आर्मीसँग पराजित हुनुअघि एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो ।

प्रतियोगितामा बिहीबार ५ खेल हुनेछन् । बिहीबार जावलाखेल र आर्मी, प्रगतिशिल युवा क्लब र गण्डकी प्रदेश, पुलिस र गल्कोट, एपीएफ र जावलाखेल तथा गण्डकी र गल्कोटबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *