काँग्रेसको जागरण अभियानमा नेकपा कार्यकताको उपद्रो, बाँके सभापति कोइराला घाइते

डिसी नेपाल
२६ भदौ २०७६ १८:३८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम अनुसार बिहीबार बाँकेको खजुरामा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले उपद्रो गरेका छन्।

नेकपा कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रवेश गरेर आक्रमणमा उत्रिएको नेपाली काँग्रेस बाँकेका जिल्ला कार्य समिति सदस्य केदार गिरीले जानकारी दिए। उनले ठूलो संख्यामा आएका नेकपा कार्यकर्ताहरुले कार्यक्रम विथोलेको बताए।

नेकपा कार्यकर्ताले काँग्रेसको कार्यक्रम विथोलेका छन् भने त्यहाँ झडपसमेत भएको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ।

काँग्रेसले भनेको छ, ‘अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गापा वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३/१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

काँग्रेसका अनुसार जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको छ । अन्य दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । काँग्रेसले भनेको छ, ‘नेकपाका ५०÷६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।’

बढु्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध भन्दै काँग्रेसले जागरण अभियान चलाएको छ।

काँग्रेसले आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *