नेयमार र एम्बाप्पेबिना रियलविरुद्ध भिड्दै पीएसजी

डिसी नेपाल
३१ भदौ २०७६ १२:१६

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आज राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।

च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको चोटको समस्याले केहि सहज हुने देखिएको छ । रियलविरुद्ध पहिलो खेलमा नेयमार र किलियन एमबाप्पे उपलब्ध नहुने पक्का भएको छ ।

अर्का फरवार्ड एडिन्सन काभानी पनि शत प्रतिशत फिट नरहेकाले पहिलो रोजाइमा खेल्ने सम्भावना एकदम न्यून छ । पीएसजीका लागि यसै सिजन लोनमा भित्रिएका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले अग्रपंक्ति सम्हाल्ने सम्भावना छ ।

नेयमारले प्रतिबन्धका कारण पहिलो खेल गुमाउने यसअघि नै पक्का भइसकेको थियो । उनले गत सिजन म्यानचेस्टर युनाइटेड र पीएसजीबीचको खेलबारे सामाजिक संजालमा बोलेपछि यूईएफएले उनलाई तीन खेल प्रतिबन्ध लगाएको थियो ।

लिगको पहिलो खेलमा टुलुसविरुद्ध मांशपेशीको समस्या आएपछि एमबाप्पे मैदानबाहिर छन् । यता काभानी पनि त्यसै खेलमा हाफटाइम पछि कम्मरको चोटका कारण मैदान फर्केका थिएनन् । उनी प्रशिक्षणमा यसै साता फर्केका हुन् ।

पीएसजीका लागि रियलका पूर्व खेलाडी केलर नाभास पहिलो रोजाइमा हुनेछन् । उनी केहि साता अघिमात्र पीएसजी आएका हुन् । पीएसजीका लागि डिफेन्डर थिलो केहरर र मिडफिल्डर जुलियन ड्राक्स्लर पनि टोलीमा रहने छैनन् । च्याम्पियन्स लिगको समूह ‘ए’ मा रियल र पीएसजीसँगै क्लब ब्रुज र गालाटासरे रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *