क्रिस्टियानो रोनाल्डो मोडमा करिम बेन्जेमा

डिसी नेपाल
३१ भदौ २०७६ १३:११

काठमाडौं। रियल मड्रिडमा करिम बेन्जेमा एकमात्र त्यस्ता खेलाडी देखिएका छन् जो क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि उनको ठाउँ पूरा गर्न अगाडि बढेका छन् । रोनाल्डोले लस ब्लांकोसको लागि ४३८ खेलमा ४५१ गोल गरेपछि रियल छाडेर युभेन्टस गएका थिए । रोनाल्डोको गोल औसत रियल मड्रिडको इतिहासमा कुनै पनि खेलाडीको सर्वोच्च गोल औसत हो ।

ग्यारेथ बेललाई रोनाल्डोको विकल्प हुने ठानिएको थियो तर गत सिजन उनले आफ्नो प्रदर्शनले निराश पारे । तर, बेन्जेमाले भने ला लिगा सान्ट्याण्डरका पछिल्ला १४ खेलमा १४ गोल गरेका छन् । मार्च १० पछि उनले प्रतिखेल १ गोलको औसतमा गोल गरेका छन् जसका कारण उनी जिनेदिन जिदानको पहिलो रोजाइको स्ट्राइकर बनेका छन् ।

बेन्जेमाले गत सिजन कूल ३० गोल गरे जुन उनको दोस्रो उत्कृष्ट प्रदर्शन थियो । यसअघि उनले जोसे माउरिन्होको प्रशिक्षणमा २०११–१२ सिजनमा ३२ गोल गरेका थिए । यस सिजन पनि ला लिगा सान्ट्याण्डरमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । यस सिजन उनले ४ खेलमा ४ गोल गरिसकेका छन् । उनको लस ब्लांकोसमा गोल औसत ०.४८ छ जुन यसअघि लियोनमा हुँदाको उनको औसत ०.४५ भन्दा केही बढी हो ।

सान्टियागो बेर्नाबेउमा १० वर्ष बिताउँदा बेन्जेमा चर्चित ‘बीबीसी’मध्येका एकमात्र खेलाडी हुन् जसले अहिलेसम्म रियलका लागि आफ्नो गोलले योगदान दिइरहेका छन् । बीबीसीमध्येका बेलले गत सिजन निराश बनाए भने क्रिस्टियानो रियल छाडेर गइसकेका छन् । बेलले यो सिजन प्रभावशाली सुरुवात गरे पनि उनका विषयमा जिदान अझै आश्वस्त हुन सकिरहेका छैनन् । जिदानले आफ्नो आक्रमण बेन्जेमा र चेल्सीबाट आएका इडेन हजार्डमा केन्द्रित रहने बताइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *