पर्यटकलाई डेङ्गु सर्ने चिन्ता

डिसी नेपाल
२ असोज २०७६ ८:३८

काठमाडौं । महामारीका रुपमा फैलिएको डेंगुले देशको पर्यटन उद्योगमा नकरात्मक असर पार्न सक्ने भन्दै त्यसविरुद्ध रणनीति बनाउने तयारीमा पर्यटन बोर्ड सक्रिय भएको छ। बोर्डले बुधबार पर्यटन र डेंगुबारे पत्रकार सम्मेलन गरेर डेंगुले पर्यटकलाई कुनै खतरा नरहेको तर आवश्यक सावधानी अपनाइने बताएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले डेङ्गुबारे पर्यटकमा गलत भ्रम फैलाइएको भन्दै असन्तुष्टि पोखे।  चिसो महिना आउन लागेको भन्दै लामखुट्टे हराउने उनले बताए। उनले भने, ‘अब २÷३ महिना मात्र हो, त्यसपछि लामखुट्टै आफैं हराउँछन्, भ्रमण वर्ष पनि सुरु हुन्छ, प्रर्यटकलाई लामखुट्टेले केही असर गर्दैन।’

आफ्नो भनाई राखेपछि डेंगुबारे आफूपनि अपरिपक्व भएको बताउँदै कार्यकारी निर्देशक जोशीले थप जानकारी गराउँन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. विवेक कुमार लाललाई आग्रह गरे।

डा. लालले पनि डेङ्गु रोगले पर्यटकलाई खासै असर नपर्ने दाबी गरे। उनका अनुसार डेङ्गु रोगले पर्यटकलाई केही असर गर्दैन। ‘नेपाल आउने पर्यटकको देशमा त झनै बढी डेङ्गु फैलिएको छ’, उनले भने।

नेपाल आउने पर्यटकले डेङ्गुबारे जानकारी पाएका हुँदा आफ्नो सूरक्षा उनीहरु आफैैले गर्नसक्ने उनले बताए। हात, खुट्टामा मलम लगाउने लामखुट्टेलाई भगाउन अनेक उपाय पनि अपनाउन सकिने, लामखुट्टेले टोकी हालेमा चिकित्सकको सल्लाह अनुसारको उपचार गर्नुपर्ने उनले सुझाव दिए।

बुधबार प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि डेङ्गु संक्रमणमा आपतकालिन अवस्था नै घोषणा गर्नुपर्ने नभएको बताएका थिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार पर्यटन सम्बद्ध क्षेत्रलाई निर्देशन दिँदै पर्यटकलाई डेंगुको असर हुन नहुने गरी काम गर्न भनेका थिए। उनले विमानमै डेंगुविरुद्धको औषधि छर्किनसमेत निर्देशन दिइसकेका छन्।

नेपालमा मात्र नभएर विश्वका अधिकाशं देशमा भएको भन्दै गम्भिर रुपमा लिन नपर्ने उनको टिप्पणी गरे। गत वैशाख यताको अवधीमै करिब ६ हजारको हाराहारीमा डेङ्गुका संक्रमित भैसकेका छन् भने ७ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै ५६ जिल्लामा डेंगुको प्रभाव देखिएको सरकारी अधिकारीहरुले बताइसकेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. विवेक कुमार लालले प्रस्तुत गरेको तथ्याङ्कमा नेपालमा सबैभन्दा बढी चितवनमा डेङ्गुका विरामी छन्। त्यस्तै काठमाडौं, पोखरामा पनि यसको संख्या बढी रहेको छ।

अहिले मुलुकभर ५ हजार ९५ जनामा संक्रमण भएको डा. लालले जानकारी दिए। उनका अनुसार तीब्र गतिमा डेङ्गु फैलिएपछि विश्व स्वास्थ्य संगठन एसइएआरओका विज्ञ डा. विएन नागपाल नेपालका विभिन्न ठाउँमा गएर सचेत गराएका थिए।

उनले प्रस्तुत गरेको तथ्याङ्क अनुसार विश्वमै ५० वर्षमा ३० प्रतिशत डेङ्गु बढेको छ। यो वर्षको तथ्याङ्क अनुसार पनि छिमेकी देश श्रीलंकामा ४२ हजार र भूटानमा ८ हजार बढी बढी संक्रमित छन्। यो तथ्याङ्क एसियाकै उच्चमा पर्दछ।

पर्यटन बोर्डले पर्यटकलाई डेंगु रोगको संक्रमण हुन नदिनका लागि पर्यटकीय स्थलहरुमा विशेष अभियान नै संचालन गर्ने जनाएको छ।
बोर्डका कार्यकारी अधिकृत जोशीका अनुसार डेंगु रोगको संक्रमणबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पनि नराकारात्मक प्रभाव पर्ने संकेत देखिएपछि बोर्डले पर्यटकहरुको खाने, बस्ने, भ्रमण गर्ने पर्यटकीय स्थलहरुमा यसको संक्रमण हुन नदिन विशेष अभियाननै संचालन गर्ने योजना तय गरेको छ।

डेंगुलगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख र ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैयाँ पठाइएको स्वास्थ्यमन्त्री यादवले संसदमा जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *