दशैंका लागि अग्रीम टिकट बुकिङ खुला, टिकट लिनेको भीड

डिसी नेपाल
५ असोज २०७६ १५:३९

काठमाडौं। बडा दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ। आइतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाईन बस्ने यात्रुहरुको भीड देखिएको छ। टिकट पाइँदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको नयाँ बसपार्कमा भीड लागेको हो।

सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नया बसपार्क पुगेका पाइएको अधिकारीकर्मीहरुले बताएका छन्।

उनीहरुले सरकारले वृद्ध, असक्त महिलाहरुका लागि छुट्टै टिकट लाईनको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। नयाँ बसपार्कमा अनुगमनका लागि पुगेका उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमति अनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले दशैंमा घर जान टिकट पाइँदैन कि भन्ने आशंका यात्रुहरुमा रहेकाले त्यसको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए। वृद्ध, असक्त महिलाहरुका लागि टिकट लिने छुट्टै लाईनको व्यवस्था हुनुपर्ने सहमति पनि पालना नगरिएकोमा अध्यक्ष तिमिल्सिनाको आपत्ति छ।

यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाईनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कार्वाही हुने चेतावनी दिए।

यता, सरकारले दशैंका घर जानका लागि यात्रुहरुको लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ। नयाँ बसपार्कमा भेटिएकी यातायात व्यवस्था विभागकी लेखा अधिकृत शारदा पाण्डेले यात्रुहरुलाई समस्या परेमा थप सवारी साधनको तत्काल व्यवस्था हुने जानकारी दिइन्।

उनले पहिलो दिन टिकट लिन लाईनमा बसेका यात्रुहरु आत्तिएको अवस्थामा पाइएको उल्लेख गर्दै बस पाइँदैन कि भन्ने आशंका नपाल्न पनि सबै यात्रुहरुलाई आग्रह गरिन्।

सरकारले टिकट बुकिङमा नागरिकलाई सहज बनाउन टिक काउन्टरको छेउमा नागरिक सहायता कक्ष पनि संचालनमा ल्याएको छ। यातायात व्यवस्था विभागले दशैंको टिकट बुकिङका लागि गौशाला, चाबहिल, कोटेश्वर, कलंकी र नागकढुंगामा पनि टिकट पाउने व्यवस्था गरिएको पनि जनाएको छ।

याे पनि पढ्नुस –

दशैँका लागि टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा टिकट काट्नेको भीड (फोटो फिचर)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *