एक न्यायग्राहीको शव, जो शिक्षण अस्पतालको फ्रिजमा ५ वर्षदेखि जमिरहेको छ – Dcnepal

एक न्यायग्राहीको शव, जो शिक्षण अस्पतालको फ्रिजमा ५ वर्षदेखि जमिरहेको छ

काठमाडौं। गोरखा फुजेलका नन्दप्रसाद अधिकारीले न्याय माग्दै अनशन बस्दा मृत्युवरण गरेको सोमबार ५ वर्ष पुगेको छ। आफ्नो छोरा कृष्ण प्रसाद अधिकारी तत्कालीन विद्रोही माओवादीबाट मारिएको भन्दै छोरालाई न्याय माग्दै पछिल्लो पटक आमरण अनशन बसेको ३३४ औं दिनमा सेप्टम्बर २२, २०१४ मा काठमाडौंको विर अस्पतालमा मृत्यु भएको थियो।

देशले एक कलंकको टिका लगाएको सो घटना भएको ५ वर्ष पुग्दा पनि छोराको न्यायको लडाईँमा प्राण त्यागेका नन्दप्रसादको शवलेसमेत न्याय पाउन सकेको छैन। राजधानीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्को फ्रिजमा अहिले उनको शव जमेर बसेको छ।

नन्दप्रसादसँगै उनकी श्रीमती गंगामाया पनि त्यतिबेला आमरण अनशनममा बसेकी थिइन्। छोरा गुमाएकी गंगामायाले छोराका हत्यारालाई कारबाही माग गर्दै न्यायएको लडाईँ लड्दा श्रीमान पनि गुमाइन्। अब उनले गुमाउनुपर्ने केही छैन।

सोमबार राजधानीको बीर अस्पताल बाहिर गंगामायाले आफ्ना श्रीमानको स्मृति दिवस आन्दोलनकै रुपमा सम्झिइन्।

आन्दोलनको सबैभन्दा त्रासदीपूर्ण रुप आमरण अनशन बस्दा पनि न्याय नपाएकी उनी आजभोली अन्तर्राष्ट्रिय समूदायको शरणमा पुगेकी छन्।

गंगामायाको न्यायको लडाईँमा सहयोग गर्दै आएका मानवअधिकारकर्मी चरण पर्साइले न्यायका लागि गंगामायाले अन्तर्राष्ट्रिय समूदायको ढोका घच्घच्याइरहेको बताए। उनले नन्दप्रसादको मृत्युबारे टिप्पणी गर्दै भने, ‘यो दण्डहिनताको पराकाष्ठा हो। राजनीतिको आवरणमा भएको जघन्य अपराध हो। कृष्णप्रसाद मारिएका त हुन् नी। यो कपोकल्पित कुरा त होइन। हत्याराले सजाय पाउनु पर्दैन?’

न्यायको लडाईमा श्रीमानको मृत्यु देखेकी गंगामायाले श्रीमानको शदगद् न्याय नपाएसम्म नगर्ने अडान लिइरहेकी छन्। उनको यही अडानका कारण नन्दप्रसादको भागमा अन्तिम संस्कार पनि नलेखिएको भान हुन्छ। न्यायको लडाईँमा गंगामाया शारीरिक रुपमा निकै कमजोर बनिसकेकी छन्। तर, न्यायको लागि उनको जोश भने मरेको छैन। सोमबार श्रीमानको तस्वीर छापिएको ब्यानर अगाडि उभिएर उनले न्यायको लडाईँ जारी राख्ने बताइन्।

२०६१ साल जेठमा स्कुल बिदा भएपछि कृष्णप्रसाद अधिकारी गोरखा फुजेलबाट हजुरआमा भेट्न चितवन गएका थिए । उनको जेठ २४ गते हत्या भयो । त्यसपछि अधिकारी दम्पतीले चितवन प्रहरीमा माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेललगायतले मारेको किटानी जाहेरी दिए। तर, प्रहरीले वास्ता गरेन।

२०६५ सालमा मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले पटकपटक सरकारलाई अनुसन्धान गर्न सिफारिस गरिरह्यो । २०६८ मंसिरमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई दबाब दिन बालुवाटारअघि धर्ना बसे । त्यसपछि सरकार उनीहरूप्रति क्रुर हुन थाल्यो । धर्नामा बसेका अधिकारी दम्पतीलाई उठाएर प्रहरीले कमलपोखरीस्थित प्रहरी प्रभागमा ४९ दिन गैरकानुनी हिरासतमा राख्यो ।

त्यहाँबाट छुटेपछि अधिकारी दम्पतीले फेरि बालुवाटारको सडकमा अनसन बस्न थाले । प्रहरीले उनीहरूलाई कहिले गोरखा पुर्याएर छाड्थ्यो त, कहिले गोरखा लाने भन्दै थानकोटमा लगेर छाड्दिन्थ्यो ।

२०६९ जेठ २९ गते प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले मानसिक बिरामी भएको भन्दै उनीहरूलाई मानसिक अस्पताल पाटन लगेर छोडिदियो।

यहीबीचमा अधिकारी दम्पत्तिले फेरि आमरण अनशन शुरु गरे। २०७१ असोज ६ गते प्रधानमन्त्री स्व.सुशील कोइरालाको पालामा अनशन बसेको ३३४ औं दिनमा नन्दप्रसादले संसार त्यागे। योबीचमा कृष्णप्रसादका हत्या आरोपी गोरखा फुजेलका जानुका पौडेल र छविलाल पौडेल निर्देश ठहर हुँदै जेल मुक्त भइसकेका छन्। तर, नन्दप्रसादको शवले मुक्ति पाएको छैन।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो