चालू आवको पहिलो महिनामै पौने खर्ब विप्रेषण भित्रियो

डिसी नेपाल
७ असोज २०७६ २०:२३

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह ७५ अर्ब ४० करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ।

बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ प्राप्ति ०।२ प्रतिशतले वृद्धि भई रु ८४ अर्ब ९३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो। अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो सङ्ख्या ३०.८ प्रतिशतले घटेको थियो।

मुलुक शोधनान्तर बचतमा

विगत लामो समयदेखि ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था चालू आवको पहिलो महीनामा बचतमा पुगेको छ। केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति छ अर्ब पाँच करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २४ अर्ब ७७ करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महीनामा २२ करोड ५० लाखले घाटामा रहेको थियो।

चालू आवको पहिलो महीनामा पूँजीगत ट्रान्सफर एक अर्ब तीन करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४४ करोड रहेको छ। अघिल्लो आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर एक अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी २९ करोड ५७ लाख रहेको थियो।

उपत्यकामा मूल्यवृद्धि

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा बढी रहेको पाइएको छ।उपत्यकामा ८.६३ प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको पाइएको हो।

यस्तै तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ। अघिल्लो साउनमा काठमाडौँ उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ र हिमालमा २.७४ प्रतिशतले मुद्रास्फीति रहेको थियो।

७३७ स्थानीय तहमा बैंक

राष्ट्र बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्।

प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये १३६ मा बैंकका शाखा खुलेका छन्। प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३४, प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ।

यस्तै प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन्। कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ मा बैंकको शाखा खुलेको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत साउन मसान्तसम्ममा १७१ रहेको छ। २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्।

बैंक तथा वित्तीय संस्थाको शाखाका सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकामा गत साउन मसान्तमा बढेर आठ हजार ८०५ पुगेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *