होटेलको फ्रिजमा करेन्ट लागेर पति पत्नीसहित ३ जनाको मृत्यु

डिसी नेपाल
८ असोज २०७६ ११:३९

धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो।

मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। घटना रातिकै भए पनि बिहान कोही नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बिहानै होटल सञ्चालक महतोकी आमा होटल गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन्। घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो।

अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *