बैतडीको पञ्चेश्वरमा स्वास्थ्य सेवाः चार सय लाभान्वित

डिसी नेपाल
११ असोज २०७६ ८:१८

बैतडी । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो।

शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको शिविरमा ८० गर्भवती महिलाको ‘अल्ट्रासाउण्ड’ गरिएको छ भने २७९ ले सामान्य स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा २२ ले प्रयोगशाला र २० जनाले परिवार नियोजन सेवा लिएका छन्।

दुर्गम क्षेत्रका नागरिक चिकित्सकको सेवा पाउनबाट वञ्चित भएकाले उनीहरुलाई एकै ठाउँमा विभिन्न सेवा प्रदान गर्न गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको प्रमुख भट्टले बताए। प्रत्येक महीनाको एक दिन पालिकाका दुर्गम स्वास्थ्यचौकीमा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

दुर्गममा डाक्टरको सेवा उपलब्ध भएपछि स्थानीय खुशी भएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले जानकारी दिए । शिविरमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोसना छुँकालगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए।

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन्। जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिए । जिल्ला अस्पातलमा डेङ्गु देखिएका तीनै जना बिरामी दशरथचन्द नगरपालिका–१० का रहेका छन्।

दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । योसँगै बैतडीका छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । तीनजनामा जिल्ला बाहिरका अस्पतालमा जाँच गर्दा डेङ्गु देखिएको हो। यस्तै बैतडीका २४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ।

दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रबटाइफस परीक्षण कीट उपलब्ध गराएको छ। देशैभरि उक्त रोगका बिरामी फेला परेकाले रोग परीक्षणमा सहयोग पुर्याउन २५ वटा कीट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।

यसअघि नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेङ्गु परीक्षण कीट उपलब्ध गराएको थियो। नगरपालिकाले स्क्रबटाइफस र डेङ्गुबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *