पोखरा भित्रदै दशैँका च्याङ्ग्रा

डिसी नेपाल
११ असोज २०७६ १०:४२

पोखरा । नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ।

व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपुर्याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ ।

पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दै गएको हो।

दशैँ आउनुअगाबै च्याङ्ग्रा किन्नकै लागि झण्डै एक महीना अघि व्यापारी मुस्ताङ पुगिसक्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै १५÷२० दिन हिँडाएर च्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता छ।

“माथिबाटै ट्रकमा ल्याउँदा च्याङग्रा मर्ने सम्भावना अत्याधिक हुन्छ,” च्याङग्रा व्यापारी रामचन्द्र नेपालीले भन्नुभयो, “ठाउँ ठाउँमा चराउँदै ल्याउनुपर्ने भएकाले पोखरा ल्याई पुर्याउन धेरै दिन लाग्ने गरेको छ।”

विगत केही वर्षयता लगातार मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका नेपालीले यस वर्ष त्यहाँको चराङस्थित डि गाउँबाट १९१ वटा च्याङ्ग्रा ल्याएका छन् ।

मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य रु २५÷२६ हजार पर्ने गरेका कारण यस वर्ष पोखरामा बिक्री मूल्य रु ३५÷३६ हजारसम्म पर्ने उनले जानकारी दिए ।

झण्डै एक महीना अघिदेखि नै मुस्ताङमा च्याङ्ग्राको किनबेच शुरु भएको बारागुङमुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दीपक रेग्मीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाले त्यहाँबाट बिक्रीका लागि पोखरातर्फ झारिएकाप्रति च्याङ्ग्राको रु २० का दरले राजश्व लिएको छ।

अन्य गाउँपालिकामा राजश्व तिरेर आएका व्यापारीका लागि भने गाउँपाँलिकाले थप राजश्व नलिएको उहाँले जानकारी दिए ।

हालसम्म मुस्ताङबाट झण्डै १८ हजारको सङ्ख्यामा च्याङ्ग्रा झरिसकेको हुनसक्ने जानकारी दिँदै उहाँले कतिपय झर्ने क्रममा रहेको बताए ।

च्याङ्ग्रा झार्दै गर्दा पोखराको हेमजामा यतिखेर च्याङ्ग्रा राख्ने खोर बनाउन पनि भ्यानभ्याइ छ । कतिपयले जग्गा भाडामा लिएर खोर बनाउने गरेका छन् । दशैँलाई लक्षित गरी च्याङ्ग्रा राख्नका लागि विगत केही वर्षयता खोर बनाउँदै आएका सिमपानी निवासी रमेश दवाडीले यस अवधिमा प्रतिखोर रु १५ हजार भाडा लिने गरेको जानकारी दिए ।

दशैँका लागि पोखरा ल्याइएका च्याङ्ग्रा व्यापारीले सकेसम्म सप्तमी र अष्टमीमा सबै बेचेर फर्कने गरेका छन् । यस अवधिमा बेच्न नसके सस्तो मूल्यमा बेचेर फर्कनुपर्ने गरेको व्यापारीको तितो अनुभव छ।

विगत केही वर्षयता बझाङको साइपाल गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका साइपाल गाउँपालिका–१ का उज्जन बोहोराले अहिले ११४ वटा च्याङ्ग्रा ल्याएका छन् ।

अघिल्लो वर्ष ११२ च्याङ्ग्रा ल्याएको जानकारी दिँदै उहाँले दशैँको अष्टमी, नवमीसम्म पनि सबै बिक्री नहुँदा रु आठ हजारसम्ममा बेचेर फर्कनुपरेको दुःखेसो सुनाए ।

यस वर्ष बझाङको साइपालबाट आफूले बिक्रीका लागि च्याङ्ग्रा ल्याएको उनले जानकारी दिए । पोखरापछि आसपासका जिल्लामा पनि च्याङ्ग्राको लोकप्रियता बढ्दै गएको छ।

पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन्। पछिल्ला समयमा काठमाडौँमा च्याङ्ग्राको माग बढे पछि खाद्य संस्थानमार्फत पुर्याउन थालिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *