केसी डान्स सेन्टरको आयोजनामा ‘कलिउड नाइट’, कार्यक्रम अत्यन्तै भव्य रहेको दर्शकको प्रतिक्रिया

डिसी नेपाल
१५ असोज २०७६ १४:०३

वाशिङटन। अमेरिकाको डिसी मेट्रो क्षेत्रमा केसी डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट २०१९ भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकामा बस्ने नेपालीहरुको ठूलो संख्यामा उपस्थिति रहेको कार्यक्रम सेप्टेम्बर २८ शनिबारका दिन भएको थियो । कार्यक्रम भव्य र सफल रहेको आयोजक केसी डान्स सेन्टरले जानकारी दिएको छ । सेन्टरका अनुसार कार्यक्रममा सबै टिकट बिक्री भएका थिए ।

कार्यक्रममा अमेरिकामा जन्मेका नेपाली मूलका बालबालिकाहरुले आफ्नो प्रस्तुती दिएका थिए । प्रस्तुती दिने बालबालिकाको संख्या ७० भन्दा बढी भएको बताइएको छ । उनीहरुले यो कार्यक्रमका लागि महिना भन्दा लामो अवधिदेखि निरन्तर अभ्यास गरेका थिए । कार्यक्रममा उनहिरुको प्रस्तुती प्रशंशनीय भएको उपस्थित दर्शकहरुले बताएका छन् । सहभागिका अनुसार उनीहरुको प्रस्तुती व्यवसायिक कलाकार सरहको थियो ।

बालबालिकाहरुसँगै यी बालबालिकाहरुका आमाहरुको अर्को प्रस्तुती ‘सुपर मम’ पनि बेजोड रह्यो । दर्शकहरुका अनुसार आमाहरुको प्रस्तुती गत वर्ष भन्दा झनै परिष्कृत थियो । कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महतले आफ्नो प्रस्तुती दिएका थिए । उनलाई कलाकार रिमा केसी तथा अमेरिकामा जन्मेका किशोरीहरुले साथ दिएका थिए ।

कार्यक्रममा चर्चित गायक जगदीश समालले आफ्ना चर्चित २ गीत प्रस्तुत गरे । समाल न्यूयोर्कबाट डिसी मेट्रो आइपुगेका थिए । कार्यक्रममा अर्की चर्चित गायिका नलिना चित्रकार पनि आइपुगेकी थिइन् । क्यालिफोर्नियामा बसोबास गर्दै आएकी चित्रकारले पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् ।

कार्यक्रममा मन्तव्य र सम्मानको कार्यक्रम राखिएको थिएन । मन्तव्य र सम्मानको कार्यक्रम नहुने पूर्व घोषणा नै गरिएको थियो । कार्यक्रमको शुभारम्भमा सामूहिक रुपमा दशैँको दुर्गा स्तुति गरिएको थियो । आयोजक केसी डान्स सेन्टरका संचालक युवा कोरियोग्राफर नविन केसी र लुना श्रेष्ठले अन्य कलाकारहरुसँग सामूहिक प्रस्तुती दिएका थिए । कलाकार राहुल केसी तेजेन्द्र र प्रख्यात कलाकार यज्ञमा शाक्यले नेपालका विभिन्न जातजातिका मौलिक गीत र संस्कृतिमा अमेरिकामा जन्मेका बालबालिका तथा किशोरीहरुको साथमा विशेष प्रस्तुति दिएका थिए।  यो प्रस्तुती उत्कृष्ट रहेको दर्शकहरुको प्रतिक्रिया थियो ।

कार्यक्रममा तिहारको देउसीको मञ्चन समेत गरियो । प्रस्तुतीमा मेरिल्याण्डका वरिष्ठ समाजसेवी राम मालाकारले देउसी खेलिने घरको घरधनीको भूमिका निर्वाह गरे । देउसी भैलो परसु तिमिल्सिनाले भट्याएका थिए । कार्यक्रम संचालन संचारकर्मी परसु तिमिल्सिना, समीक्षा सापकोटा लगायत अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *