बोलपत्र च्यातेको अभियोगमा ७ जना पक्राउ

डिसी नेपाल
३० असोज २०७६ ८:५४

बाँके । बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो।

निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार, बोलपत्र फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका सात जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

बुधबार बोलपत्र दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सो क्रममा युवाहरुको एक समूहले दर्ता गर्न लागिएका बोलपत्र च्यातेपछि विवाद भई बोलपत्र प्रक्रिया नै रोकिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।

उनका अनुसार रु ५० लाखको दुई पोष्ट भवन र रु १९ लाखको पर्खाल निर्माणका लागि बोलपत्र खुलाइएकामा आठ बोलपत्र दर्ता भए पनि अन्य बोलपत्र च्यातिएपछि परेका सबै बोलपत्र बदर गरी नियमानुसार पुनः पक्रिया अगाडि बढाइने छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *