नेतृत्व व्यवस्थापनमा अड्कियो समाजवादी पार्टी र राजपाबीचको एकता

डिसी नेपाल
४ कार्तिक २०७६ ७:४५

काठमाडौं। विचार र सिद्धान्त मिल्ने दलसँग एकता गर्ने नीति लिएका सत्तारुढ दल समाजवादी पार्टी र विपक्षी दल राजपाबीचको एकता प्रक्रिया नेतृत्व व्यवस्थापनका विषयमा गएर अड्किएको छ।

विभिन्न चरणमा भएको औपचारिक र अनौपचारिक छलफलमा अन्य धेरै विषयमा सहमति भएपनि नेतृत्व व्यवस्थापनको विषयमा गएर अड्किएको नेताहरुले बताएका छन्। अहिले राजपाभित्र ६ जनाको अध्यक्ष मण्डल रहेको छ भने संघीय समाजवादी पार्टीमा पनि प्रमुख तीन नेताको व्यवस्थाको समस्या देखिएको छ।

स्रोतका अनुसार एकीकृत पार्टीको नेतृत्व डा. बाबुराम भट्टराई र महन्थ ठाकुरले गर्ने सहमति भएपनि अन्य नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुरा मिलिसकेको छैन।

एकीकृत पार्टीको नेतृत्व डा. बाबुराम भट्टराई र महन्थ ठाकुरले गर्ने सहमति भएपनि अन्य नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुरा मिलिसकेको छैन।

राजपाले समाजवादी पार्टीसँग एकता गर्न समाजवादी पार्टी सरकारबाट बाहिरिनु पर्ने, बराबरीका आधारमा एकता हुनुपर्ने विषयलाई मुख्य मागका रुपमा अगाडि सारेको राजपा महासचिव केशव झाले जानकारी दिए। यी दुवै मागमा समाजवादी पार्टी सकारात्मक रहेको छ।

समाजवादी पार्टीले यही कात्तिक महिनाभित्र सरकारबाट बाहिरिने बताएको स्रोतले जनाएको छ। ‘सरकारबाट बाहिरिने कुरामा अब शंका गर्नुपर्ने अवस्था छैन,’ स्रोतले भन्यो, ‘उहाँहरु पनि सरकारका कामबाट सन्तुष्ट हुनुहुन्न। पछिल्लो समय सरकारको खुलेरै विरोध गर्न थाल्नु भएको छ। यसको अर्थ उहाँहरु अब सरकारबाट बाहिरिनु हुन्छ भन्ने हो।’

तर नेतृत्वको व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। डा. भट्टराई र ठाकुरले पार्टीको नेतृत्व गर्ने तय भएपनि राजपाले सबै नेताको व्यवस्थापनलाई जोड दिँदै आएको छ।

‘समाजवादी पार्टीमा भन्दा राजपामा नेतृत्वको व्यवस्थापन जटिल देखिएको छ,’ एक नेताले भने, ‘राजपाभित्र ६ जना अध्यक्ष मण्डलका सदस्य छन्। अन्य नेताको पनि व्यवस्थापन गर्नुपर्छ। समाजवादी पार्टीभित्र मुख्य गरी नेताको व्यवस्थापन गरे पुग्छ।’

अन्य विषयमा भने विवाद नभएको स्रोतले जनाएको छ। अहिले दुई नम्बर प्रदेशमा समाजवादी पार्टी नेतृत्वको सरकारमा राजपा सहभागी भएको छ। समान विचारधारा भएका दलबीच एकता गर्ने नीति अनुसार समाजवादी पार्टी र राजपाबीच एकताको कसरत भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *