घर बनाएको प्रमाण पत्रका लागि ५ लाख घुस खाने ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

डिसी नेपाल
१८ कार्तिक २०७६ १६:२५

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माणको प्रमाण पत्रका लागि सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिने तीन्जना विरुद्ध मुद्दा दायर गरेको छ।

सोमबार अख्तियारले काठमाडौंको टोखा नगरपालिका–६ स्थित लायन्स इन्जिनियरिंग कन्सल्टेन्सीका सञ्जालक ओभरसियर प्रशान्त चौधरी, टोखा नगरपालिकाका इन्जिनियर दिनेशकुमार पाठक र लेखापढी व्यवसायी जयराम तिमिल्सेनाविरुद्ध विशेष अदालतमा मुद्दान दायर गरेको हो।

अख्तियारले जनही ५ लाख रुपैयाँ विगो दावी गर्दै हदैसम्मको सजाय माग गरी मुद्दा दायर गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। तीनै जनाको मिलेमतोमा घर निर्माणको प्रमाणपत्र दिनका लागि ५ लाख रुपैयाँ घुस मागिएको उजुरीमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

प्रेस विज्ञप्ति :- मिति २०७६।०७।१८ गते ।
———————————————-

जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं.६ स्थित, लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरी तथा टोखा नगरपालिकाका ईन्जिनियरहरुको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा उक्त प्रा.लि. का ओभरसियर प्रशान्त चौधरी, नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसायी जयराम तिमिल्सिनासमेतको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाई दिनका लागि सेवाग्राहीबाट रु.५,००,०००।–(पाँच लाख) घुस/रिसवत प्रशान्त चौधरीले आफ्नै कन्सल्टेन्सीमा बोलाई रकम लिई घर निर्माण सम्पन्नको प्रमाणपत्र निवेदकलाई उपलब्ध गराएकोमा उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज आरोपी प्रशान्त चौधरीलाई विगो रु.५,००,०००।–(पाँच लाख) कायम गरी भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय माग दावी गरिएको, साथै आरोपी दिनेश कुमार पाठकले प्रशान्त चौधरीमार्फत रु.५,००,०००।–(पाँच लाख) लिन लगाएको र उक्त घुस/रिसवतको रकम निजले प्राप्त गर्न अगावै प्रशान्त चौधरीबाट बरामद भएको हुँदा टोखा नगरपालिकाका करार ईन्जिनियर दिनेश कुमार पाठकले गरेको उक्त कार्य भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि भएकोले निजलाई भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदावी गरिएको, त्यसैगरी जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ६ घर भई लेखापढी व्यवसाय गर्ने जयराम तिमिल्सिनाको हकमा पनि उक्त घुस/रिसवतको रकम निजले प्राप्त गर्न अगावै प्रशान्त चौधरीबाट बरामद भएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको सप्रमाण पुष्टि भएकोले आरोपी जयराम तिमिल्सिनाउपर सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *