सुर्खेतमा पनि ‘गो ब्याक इण्डिया’ नारा

डिसी नेपाल
२१ कार्तिक २०७६ १२:२१

सुर्खेत । नेपाली भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोमा व्यापक विरोध सुरु भएको छ ।

यसै अन्तर्गत सुर्खेतमा पनि नेविसंघ र अनेरास्ववियुले विरोध प्रर्दशन गरेका छन्। भारत सरकारको विस्तारवादी नीतिले नेपाली भू–भाग आफ्नो नक्सामा हालेर र नेपाली भूमि अतिक्रमण गरेको भन्दै अनेरास्ववियुले आन्दोलनको सूरुवात गरेको साविक अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष धुपेन्द्र शाहीले बताए ।

विद्यार्थीहरुले कालापानी हाम्रो हो, लिपु लेक हाम्रो हो भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाउँदै स्थानीय वीरेन्द्रचोकमा कोणसभाको आयोजना समेत गरेका छन् । कोणसभामा बोल्दै विद्यार्थी नेता धुपेन्द्र शाहीले भारतले मिचेको भूमि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यसैगरि अनेरास्ववियुका नेता प्रेम खड्काले नेपाली भूमि माथि भारतीय सरकारले पटक पटक हस्तक्षेप गर्ने प्रयत्न गरेकाले तत्काल भारतीय सरकार सच्चिन तयार नभए लिपुलेख र कालापानीमै अनेरास्ववियु भाला लाठी लिएर मार्चपास गर्न तयार रहेको बताए ।

देवीचन्द्र उपाध्यायले भने भारतीय हस्तक्षेप नेपाली विद्यार्थीलाई सह्य नभएको नेपाली माटोको माया गर्ने सम्पूर्ण नागरिकलाई आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन् ।

नेपाल सरकारले भारत सरकारसँग समन्वय गरि नेपालको भूमि तुरुन्त फिर्ता गर्नु पर्ने उनीहरुले माग राखेका छन् । भारत सरकारले नेपाली भूमि माथि गरेको अतिक्रमण सह्य नभएको बताउँदै विद्यार्थीहरुले सरकारले त्यस तर्फ चासो नदेखाए कडा आन्दोलन गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *