विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि

डिसी नेपाल
२१ कार्तिक २०७६ १४:१८

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लवविरुद्ध फर्स्ट क्लास खेलमा नेपालको इनिङ विनोद भण्डारी र सोमपाल कामीले सम्हालेका छन् । ३४ रनको स्कोरमै ५ विकेट गुमाइसकेको नेपालको इनिङ यी दुईले सम्हाल्दै स्कोर सय रन माथि पुर्याएका छन् । यद्यपि विनोद भण्डारी भने स्कोर १०० माथि पुर्याएपछि व्यक्तिगत ३६ रनको स्कोरमा आउट भए ।

चिया ब्रेकम्म नेपालको स्कोर ३५ ओभरमा ६ विकेटको क्षतिमा १०५ रन छ । सोमपाल कामी अविजित २४ रनमा खेलिरहेका छन् । अहिले नेपालको मुख्य लक्ष्य फलो अनमा नपर्नु रहेको छ । यदि फलो अनमा परेमा नेपालले हार्ने सम्भावना उच्च हुनेछ । पहिलो श्रेणीको खेल वा टेस्टमा पहिलो इनिङमा ब्याटिङ गर्ने टिमले बनाएको स्कोरभन्दा दोस्रो टिमको स्कोर २०० वा सोभन्दा बढी रनले पछि भएमा पहिलो टिमले दोस्रो टिमलाई फलो अनमा पठाउन पाउँछ । यो खेलमा एमसीसीले पहिलो इनिङमा ३६४ रन बनाएकोले नेपाल फलो अनबाट बच्न कम्तीमा १६५ रनको स्कोर बनाउनुपर्ने हुन्छ ।

दोस्रो दिन एमसीसीलाई अलआउट गरेपछि ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएसँगै धरायसी बनेको नेपाली ब्याटिङ सम्हाल्न आएका अर्का अनुभवी ब्याट्सम्यान शरद भेषावकर पनि ४ रनमा पेभेलियन फर्किए । यस्तै लन्च ब्रेक अघि ८ रन बनाएका राजु रिजालको रुपमा नेपालले तेस्रो विकेट पनि गुमायो । लञ्चपछि दिपेन्द्र सिंह ऐरी १ रनमा र आरिफ शेख १० रनमा आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *