फिफा विश्व कप छनोट : रंगशाला तयार नहुँदा घरमै खेल्ने मौका गुम्यो

डिसी नेपाल
२१ कार्तिक २०७६ १९:५७

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालको पहिलो घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ। रंगशाला तयार नभएपछि नेपालले छनोटको घरमै खेल्न पाउने मौका गुमाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतसँग खेल दशरथ रंगशालामा नहुने जनाएको छ।

नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो। तर, पुनः निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तय नहुँदा नेपाल र कुवेतको खेल नहुने भएको हो।

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षण गरेपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको हो।

अब नेपाल र कुवेतबीचको खेलका लागि न्युट्रल भेन्यु खोजिने एन्फाले जनाएको छ। एन्फाले भुटानको चाङ्लिमिथाङमा गराउने प्रस्ताव फिफा र एएफसीलाई गरेको छ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौंथो स्थानमा छ।

यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्यो।

यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *