अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज वेष्ट इण्डिजलाई

डिसी नेपाल
२४ कार्तिक २०७६ ७:०७

एजेन्सी । अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजले जितेको छ । भारतको लखनउमा शनिबार भएको दोस्रो एकदिवसीयमा ४७ रनको जित निकाल्दै वेष्ट इण्डिजले एक खेल अगावै सिरिज जितेको हो ।

योसँगै वेष्ट इण्डिजले सन् २०१४ पछि पहिलोपटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ । अब दुईबीचको अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ । यस अघि बुधबार भएको पहिलो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

वेष्ट इण्डिजले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर ४ बलमा २०० रन जोड्दा अलआउट भयो । अफगानिस्तानका लागि नाजिबउल्लाह जड्रानले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रहमत शाहले ३३ तथा मोहमद नाबीले ३२ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा रोक्न रोस्टन लामर, सेल्ड्रोन कोट्रेल र हेडेन वाल्शले ३–३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा इभिन लेविसले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । शाइ होपले ४३ रन जोड्दा सिमरन हितमायरले ३४ रन बनाए । अफगानिस्तानका नभिन उल हकले ३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *