इमर्जिङ एसिया कप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

डिसी नेपाल
२५ कार्तिक २०७६ १२:२५

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा सहभागि हुन नेपाली राष्ट्रिय क्रिकेट टोली बंगलादेश प्रस्थान गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ९ सदस्यीय नेपाली टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । बाँकी खेलाडी सहितको टोली भने मंगलबार र बुधबार जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । बंगलादेशको फ्लाइट रद्द भएपछि तीन चरणमा खेलाडी पठाउन लागिएको क्यानले बताएको छ ।

समूह ’बी’ मा रहेको नेपालले टेष्ट राष्ट्र भारत र बंगलादेशसँगै हङकङसँग खेल्नेछ । टेष्ट राष्ट्रको यू–२३ टोली सहभागि हुँदा नेपालको सिनियर टोली खेल्न लागेको हो । नेपालले विहिबार समूहको पहिलो खेलमा भारतको सामना गर्नेछ । नोभेम्बर १६ मा हङकङसँग खेल्ने नेपालले समूहको अन्तिम खेल नोभेम्बर १८ आयोजक बंगलादेशसँग खेल्नेछ ।

मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने समाबेश छैनन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने टि–१० लिगमा आबद्ध भएपछि पारस र सन्दीपले यो प्रतियोगिता नखेल्ने भएका हुन् । चोटका कारण बसन्त रेग्मीलाई आराम दिइँदा कुसल भुर्तेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपाल समूह ‘बी’ रहँदा समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *