‘नेपालमै अभिनय र समाजसेवामा भविष्य बिताउने सोँच छ’

डिसी नेपाल
२ मंसिर २०७६ १२:४२

काठमाडौं। मिरुना मगरले धेरै वर्ष बेलायतमा बिताइन्। अहिले पनि उनको परिवार बेलायतमा छ।

तर, मिरुना त्यहाँको सुविधासम्पन्न बसोबास छाडेर ३ वर्षअघि नेपाल फर्किन्। नेपाल आएको छोटो समयमै फिल्ममा ब्यस्तता बढ्यो। अहिले उनलाई फिल्ममा अभिनय गर्न भ्याईनभ्याई छ। यो व्यस्तता मिरुना स्वयंले कल्पना गरेकी थिइनन्। त्यसैले त हालै डिसी नेपालसंगको भेटमा भनिन्,–‘मेरो जीवनमा नसोचेका कुराहरु भयो।’

मिरुनाको बाल्यकाल धरानमा बित्यो। बुवा ब्रिटिस लाहुरे। पढ्दै थिइन्। कक्षा ८ पढ्दै गर्दा परिवारसहित बेलायत पुगिन्।

बेलायतमा पढ्दै गइन्। वर्षहरु बित्दै गए। नेपालका युवापुस्ता विदेश भनेपछि मरिहत्ते गर्छन्। तर, उनले भने आफू विदेशमै स्थापित हुनेबारे कहिल्यै सोचिनन् । उनको सोच सधैं नेपाल फर्किएर केही गर्ने नै रह्यो। तर, ठयाक्कै के गर्ने? त्यसको भने पत्तो थिएन्। रुचि समाजसेवा र कलाकारितामा थियो। उनको देशप्रेम पछाडिको कारण भने, पारिवारिक माहोल मान्छिन् उनी।

‘बेलायतमा हाम्रो घरभित्र नेपाली भाषा बिर्सिन्छ भनेर अंग्रेजी बोल्न समेत ‘अलाउड’ थिएन। ममी–ड्याडीले नेपालको कला–संस्कृति, भाषामा विशेष महत्व दिनुहुन्थ्यो’ डिसी नेपालसंग कुरा गर्दै नेपालप्रतिको मायाबारे बोलिन्–‘त्यस्तै दशैं–तिहार लगायतका चाडपर्वमा पनि नेपाली पोशाक लगाउन भन्नुहुन्थ्यो।’

उनी त्योसंगै आफूमा ममीको विशेष प्रभाव रहेको बताउँछिन्। भन्छिन्, –‘ममी पहिले धरानमा हुँदा थिएटरको कलाकार हुनुहुन्थ्यो। संगै सामाजिक कार्यकर्ताको रुपमा पनि काम गर्नुभएको थियो। त्यसैको प्रभावले हुनसक्छ मलाई कलाकार र समाजसेवामा रुचि लाग्यो।’ बेलायतमा रहँदा पनि आफू समाजसेवाको क्षेत्रमा काम गर्दै आएको मिरुना बताउँछिन्।

सन २०१६ मा मिरुनाले व्यवस्थापनमा स्नातक सकेर नेपाल फर्केकी हुन्। नेपाल आउँदा उनको सोच थियो, –कुनै एनजिओ, आइएनजिओमा आवद्ध भएर समाजसेवाको काम गर्ने, संगै थिएटर क्लास जोइन हुने।

नेपाल फर्किनासाथ थिएटर क्लास जोइन गरिन्। नाटक सिकिन्, नाटकमा अभिनय गरिन्। ‘कथा देश ३’ थियो त्यो नाटक। त्यही नाटकले उनलाई फिल्मका लागि ढोका खोलिदियो। अर्थात मिरुना फिल्मकी हिरोइन् बनिन्। लालपूर्जा, उनको पहिलो फिल्म। फिल्म निर्माण टिमले नाटक हेरेपछि मिरुनालाई फोन गरेर फिल्मका लागि अफर गरेको रहेछ।

‘लालपूर्जा’मा सौगात मल्ल, विपिन कार्की लगायतका थिएटरका चलेका हिरोसंग स्किृन शेयर गरिन्। त्यसयता उनलाई लगातार अरु फिल्मबाट अफर आयो। फिल्म गर्दै गइन्। ‘रोज’मा प्रदिप खड्कासंग स्क्रिन शेयर गरिन्। ‘रोज’ले आफूमा फिल्मप्रतिको आकर्षण अझ बढाएको मिरुना बताउँछिन्।

नेपालकी प्रथम अभिनेत्री भुवन चन्दको फिल्म ‘साइनो’मा काम गरिन्। जुन आफ्नो लागि ठूलो सौभाग्य ठान्छिन्। अहिले आर्यन सिग्देलसंग स्क्रिन शेयर गरेकी छन्। ‘चच हुई’ यहीँ आउँदो शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ। यस फिल्मबाट पनि आफूले धेरै कुरा सिक्न पाएको मिरुना बताउँछिन्। भन्छिन्, –‘हरेक फिल्मबाट सिकिरहेकी छु। हरेक फिल्ममा आफ्नो जतिसक्दो राम्रो दिने प्रयास गरिरहेकी छु।’ अहिले उनी दयाहाङ राईसंग नयाँ फिल्ममा काम गरिरहेकी छिन्।

ममी थिएटर ब्याकग्राउण्ड भएको हुनाले आफूले पनि सिक्छु भन्नेर थिएटर पुगेकी मिरुना एकाएक फिल्ममा व्यस्त बनिन्। भन्छिन्, –‘पहिले रुचि भएपनि आँट थिएन् नि ! ममी थिएटर ब्याकग्राउण्डको भएकाले मैले पनि एकपटक सिक्छु भन्ने मात्र सोच थियो। तर मेरो यात्रामा नसोचेका कुराहरु भयो। लगातार काम पाउँदै गएँ।’

फिल्ममा डेब्यूपश्चात उनी सोँच्थिन् रे! – ‘विस्तारै स्टेप बाइ स्टेप अगाडि बढ्न पाए हुन्थ्यो’ अहिले त्यस्तै भइरहेको छ। अनुहारमा चमक ल्याउँदै भन्छिन्, –रमाईलो यात्रा भइरहेको छ। डिफरेन्ट टिम, डिफरेन्ट जनरा, डिफरेन्ट कलाकारसंग नयाँ–नयाँ अनुभव भइरहेको छ।’अब उनको सोच नेपाली फिल्ममै भविष्य बिताउने छ। संगै अर्को सोच छ, नेपालमै बसेर समाजसेवालाई अगाडि बढाउने।

एउटा गुनासो– म कसरी ‘अनलक्की’ ?
फिल्ममा डेब्यू गरेदेखि मिरुना खाली हात बस्नुपरेको छैन्। उनको अभिनयलाई पनि दर्शकले रुचाएका छन्। तर, उनी अभिनित फिल्मले गलितो ब्यापार गर्नबाट चुकिरहेका छन्। त्यसैले होला, मिरुनालाई धेरैले ‘अनलक्की नायिका’ भन्छन्।

मिडियाले पनि उनलाई ‘अनलक्की नायिका’ भनेर सम्बोधन गर्छन्। तर, मिरुना यसमा असहमती जनाउँछिन्। उनको गुनासो छ, – मैले लगातार फिल्म गरिरहेकी छु भने म कसरी ‘अनलक्की’? उनी त्यस्ता कुरा सुन्दा मनमनै हाँसो लाग्ने समेत बताउँछिन्। त्यस्ता कुराले आफ्नो करिअरमा समेत असर नगरेको मिरुनाले बताइन्।

‘फिल्म फ्लप हुने मेरो कारणले मात्र होइन् नि’ उनले भनिन् –‘जुन फिल्म मेकरसंग काम गर्न पाएको छु। उहाँहरुले त्यस्ता कुरालाई भन्दा कलाकारलाई विश्वास गर्नुहुँदोरहेछ।’

-तस्वीर सौजन्य : आर्यन विमली




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *