हेलम्बु गाउँपालिकामा भएका सबै चौँरीको नि:शुल्क बीमा

डिसी नेपाल
३ मंसिर २०७६ ८:३३

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ।

गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा शेर्पाले चौँरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भएको बताए ।

गाउँपालिकाभित्रका फिरन्ते चौँरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौँरीको निःशुल्क बीमा योजना अघि बढाइएको हो।

सरकार र किसानको संयुक्त लगानीमा पशु बीमाअन्तर्गत किसानले तिर्नुपर्ने बीमाङ्क गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भएको छ । पचहत्तर प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बीमा कार्यक्रम आधारित छ।

तर, गाउँपालिकाले किसानलाई चौँरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई निःशुल्क चौँरी बीमाको अवसर मिलेको हो।
गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका चार सय बढी चौँरीको निःशुल्क बीमा गरिएको छ । बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरिएको लगानी सुरक्षित बनाएको छ।

बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरेको लगानी सुरक्षित बनाएको स्थानीय चौरीपालक किसान साङ्गे शेर्पाले बताए ।

रु एक लाख बढी मूल्य पर्ने चौँरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बीमा कार्यक्रमले मुक्ति मिलेको छ । “गोठ सार्दै जाँदा चौँरी बिरामी भएर मर्ने जोखिम हुन्छ, केही गरी मरिहालेमा अब भने बीमा कार्यक्रमले लगानी जोगिनेमा ढुक्क बनायो”, शेर्पाले भने ।

पशुको मृत्युपछि घाटा व्यहोर्ने हुँदा विस्तारै चौँरीपालनतर्फ किसानको आकर्षण घट्दै गएको थियो । चौँरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालक बनाउन बीमा कार्यक्रम निःशुल्क बनाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

खर्कमै पुगेर गाउँपालिकाले चौँरीको बीमा गराएको छ। बीमासँगै गाउँपालिकाले चौँरीगोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानलसहित उपकरण वितरण गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *