समाजवादी पार्टीलाई दुई नम्बर प्रदेशको सरकार गुम्ने डर!

डिसी नेपाल
८ मंसिर २०७६ ११:२७

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले गत बुधबार मौजुदा मन्त्रिपरिषद पुनर्गठन गरे। दुई राज्यमन्त्रीसहित आठ जना मन्त्रीलाई पद मुक्त गरेका प्रधानमन्त्री ओलीले तीन राज्यमन्त्रीसहित नौ जना मन्त्रीलाई नियुक्त गरे। त्यो बाहेक दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरे।

प्रधानमन्त्री ओलीले बर्तमान सरकारमा तेस्रो वरियतामा रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा ल्याएका छन् भने कानुन मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्रिपरिषद पुनर्गठन हुँदा सरकारको तेस्रो बरियतामा रहेको उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वास्थ्य सम्बन्धि एउटा कार्यक्रमा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा थिए। यादव दिल्ली जाँदा स्वास्थ्य मन्त्री थिए भने फर्किँदा कानुन मन्त्री।

यादव दिल्लीबाट फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति तीव्र असन्तुष्टि जनाएपनि तत्काल सरकार भने नछोड्ने निर्णण गरेको छ।

त्यसो त पछिल्लो समय प्रधानमन्त्री केपी ओली उपेन्द्र यादवसँग सन्तुष्ट छैनन्। उनले सरकारमै सहभागी भएर सरकारको आलोचना गरेको, प्रधानमन्त्रीको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली यादवप्रति असन्तुष्ट छन्। कतिपयले यादवको जिम्मेवारी हेरफेर समाजवादी पार्टी सरकारबाट बाहिरियोस भन्ने हेतुले गरेको पनि बताउने गरेका छन्।

समाजवादी पार्टीका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा डिसी नेपाललाई बताए अनुसार प्रधानमन्त्री ओली सरकारबाट समाजवादी पार्टी बाहिरियोस भन्ने चाहन्छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि त्यसको ठाउँमा राजपालाई सरकारमा सहभागी गराउने योजना प्रधानमन्त्रीसँग रहेको समाजवादी पार्टीले निष्कर्ष निकालेको ती नेताले दाबी गरे।

केन्द्र सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि त्यसको ठाउँमा राजपालाई सरकारमा ल्याउने र दुई नम्बर प्रदेशको सरकारबाट पनि समाजवादी पार्टीलाई ‘आउट’ गरेर नेकपा– राजपाको सरकार गठन गर्ने नेकपाको योजना रहेको समाजवादी पार्टीले निष्कर्ष निकालेको छ। अहिले दुई नम्बर प्रदेशमा समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ।

दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकार विरुद्ध आक्रामक अभिव्यक्ति दिने गरेको, अनावश्यक रुपमा मुद्दा मामिला गर्ने गरेको भन्दै समाजवादी–राजपा सम्मिलित सरकार हटाएर नेकपा–राजपा सम्मिलित सरकार गठन गर्न प्रधानमन्त्री ओलीले उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेको समाजवादी पार्टीको बुझाइ रहेको ती नेताले बताए।

ठूलो दल भएका नाताले दुई नम्बर प्रदेश सरकारको नेतृत्व अहिले समाजवादी पार्टीले गरिरहेको छ। केन्द्र सरकारसँग उपेन्द्र यादवको टसल र दुई नम्बर प्रदेस सरकारले पनि केन्द्र सरकारसँग ‘झमेला’ गरेपछि समाजवादी पार्टीलाई सरकारबाट बाहिर पठाएर केन्द्र र दुई नम्बर प्रदेशमा पनि राजपासँग मिलेर सरकार गठन गर्न लागेको निष्कर्ष निकालेको समाजवादी पार्टीले ‘अपमान’ सहेरै भएपनि अहिले सरकार नछोड्ने निष्कर्षमा पुगेको हो। पछिल्लो समय प्रधानमन्त्री र राजपा शीर्ष नेताहरुबीच निरन्तर संवाद भइरहेको समाजवादी पार्टीका नेताले दाबी गरे।




प्रतिक्रिया

One thought on “समाजवादी पार्टीलाई दुई नम्बर प्रदेशको सरकार गुम्ने डर!

  1. हामीलाई त नेपाली खानाहरु नै मन पर्छ। हामीलाई मन पर्दैन नेवारि खाना। नेपाली खाना नै जस्तो पनि छ। चाडपर्बमा पनि राम्रो संग खान नपाएको , “गरीब ” हरु ले , नेवारि खाना मन पर्छ भनेको सुनेको थिए। हामीलाई त नेपाली खानाहरु नै मन पर्छ। नेपाली खाना हजार थरी को छ , जे खाए पनि छ। सबै भन्दा मन परनि नै नेपाली खाना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *