नयाँ दिल्लीमा भिषण आगलागीः कम्तीमा ४३ जनाको मृत्यु

डिसी नेपाल
२२ मंसिर २०७६ १२:५१

नयाँ दिल्ली, भारत । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ। एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ।

“घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ,” नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भने ।

“उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो,” उनले भने, “खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ।”

नयाँ दिल्लीका एक जना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए।

उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन्।

उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

भारतका धेरै शहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीहरुमा सञ्चालन गर्ने गरिएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *