हजारै विद्यार्थीले सार्वजनिक गरे लिम्पियाधुरा समेटिएको नेपालको नक्सा

डिसी नेपाल
२३ मंसिर २०७६ १८:५७

काठमाडौं । भारतले नेपालीभूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगकाबीच राजधानी काठमाडौंमाहजारौं विद्यार्थीहरुले अतिक्रमित नेपालीभूमिसहितको नक्सा सार्वजनिक गरेका छन् ।

नेपाल विद्यार्थी संघका नेताएवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्साप्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बसन्तपुरमै नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् ।

अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लागिरहेका बेला नेविसंघले बृहत प्रदर्शनसहित नक्सा सार्वजनिक गरेको हो । अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेर नेपालको वास्तविक नक्सा बनाउन सिकाइएको बताए ।

‘पहिलो चरणमा विद्यार्थीलाई नेपालको वास्तविक नक्सा चिनायौं । नक्सा बनाउन सिकायौं र बसन्तपुरबाट प्रदर्शन गर्यौं’ , त्रिपाठीले भने । नेपालको भूमि मिचिँदासमेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्साबारे थाहा नभएको भन्दै त्रिपाठीले आमनागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको बताए ।

सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।

कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो स्वास्थ्यसंगै देशको स्वास्थ्यको पनिख्याल गर्न आग्रह गरे । गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी संघ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै नेता काफ्लेले सीमा मिचिँदा सरकार निरीह बनेको आरोप लगाए ।

‘भारतसंग गर्नुपर्ने हो किचीनसंग या संयुक्त राष्ट्रसंघसंग हो, तत्काल वार्ता गरेर नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ । यत्ति काम गर्न नसक्ने कम्युनिष्ट सरकारको औचित्य छैन’, काफ्लेले भने ।

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर सहभागि भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *