किन पठाए प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई सुटुक्क नयाँ दिल्ली ?

डिसी नेपाल
२५ मंसिर २०७६ ७:५१

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष दूत बनाएर नयाँ दिल्ली पठाउन लागेको कुरा चर्चामा आएकै बेला नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सुटुक्क भारतको नयाँ दिल्ली पठाइएका छन्। प्रधानमन्त्री कार्यालयको एक उच्च स्रोतका अनुसार, उनी मंसीर २३ गते दिल्ली गएका हुन्।

सीमा विवादकै अवस्थामा भारतद्वारा जारी नयाँ नक्साबारे नेपालको परराष्ट्र मन्त्रालयले असन्तुष्टि प्रकट गर्दै सो नक्सा नेपाललाई मान्य नहुने भन्दै ‘डिप्लोमेटिक नोट’ पठाएपछिको उत्पन्न परिस्थितिबारे बुझ्न उनलाई दिल्ली पठाइएको बताइएको छ।

भारतले जम्मु कास्मिरलाई विभाजन गरी कास्मिर र लद्दाकलाई छुट्टाछुट्टै राज्य बनाएर जारी गरेको नक्सामा नेपाली भूमि कालापानीलाई पनि फेरि आफ्नै नक्साभित्र पारेपछि नेपाल र भारत सरकारका बीचमा असमझदारी बढेको छ।

एक उच्च स्रोतका अनुसार, गुप्तचर प्रमुख अधिकारीले भारतीय गुप्तचर प्रमुख र अन्य सम्बद्ध पक्षसँग भेटवार्ता गर्ने छन्। निकै गोप्य राखिएको यो भ्रमण प्रधानमन्त्री केपी ओलीको निर्देशानुसार तय भएको हो।

ओली दोस्रोपल्ट प्रधानमन्त्री भएपछि राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयबाट झिकेर प्रधानमन्त्री मातहतमा राख्ने निर्णय गरिएको थियो। गुप्तचर प्रमुख अधिकारीको भारत भ्रमण कति दिनको हो भन्नेबारे भने स्पष्ट भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *