भारतीय नागरिकता विधेयकको तरंग दक्षिण एशियामा

डिसी नेपाल
२६ मंसिर २०७६ २०:४३

नयाँ दिल्ली (एजेन्सी) । भारतले एक विवादास्पद नागरिकता शंसोधन विधेयक पारित गरेपछि यसका तरंगले दक्षिण एशियालाई नै गिजोल्ने देखिएको छ।

भारतीय नागरिकता ऐनमा संशोधन गरेर बांगलादेश, पाकिस्तान र अफगानिस्तानबाट भारत प्रवेश गर्ने गैरमुस्लिमलाई बसोबास गरेको ६ वर्षपछि भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ। यसले भारतमै विरोध जन्माएको छ, छिमेकी बांगलादेश र पाकिस्तानमा पनि विरोध भएको छ।

भारतीय संसदले बुधबार अबेर सो विवादास्पद विधेयक बहुमतबाट पारित गरेको थियो। बुधबारदेखि नै अशान्त बनेको भारतको पूर्वी उत्तर राज्यहरु आशाम र मणिपुरमा यो विधेयकको विरोधमा नेपाली भाषी र मुस्लिमहरु आन्दोलित भएका छन्। उनीहरुले यो कानूनले आफुहरुलाई देश भित्रै अनागरिक बनाउने बताएका छन्। उता मुस्लिमहरुले भने आफुहरुमाथि धर्मका नाममा अन्याय भएको बताएका छन्।

भारतमा हिन्दु अतिवादी पार्टी भाजपाको सरकार छ। भाजपा सरकारले धर्म निरपेक्ष भारतलाई हिन्दु राष्ट्र बनाउन लागेको मुस्लिम समूदायको आरोप छ। प्रमुख विपक्षी दल काँग्रेस आईले भने यो संशोधन भारतीय संविधान विरोधी भएको बताएको छ। धर्म निरपेक्ष भारतमा धर्मका नाममा भाजपा सरकारले देशलाई विभाजन गरेको र प्रधानमन्त्री नरेन्द्र मोदीले भोटको राजनीति गरेको प्रतिक्रिया दिएको छ।

उता नेपाली भाषीहरु पनि आन्दोलित भएपछि यो संशोधनले परोक्ष रुपमा नेपाललाई पनि प्रभावित पार्ने देखिएको छ। दार्जिलिङ र आसाममा नेपाली भाषीमाथि हुने अन्यायमा काठमाडौं संवेदनशील बन्दै आएको छ। नयाँ संशोधनले नेपाली भाषीबारे कुनै व्यवस्था नगरेपछि हालै राष्ट्रिय परिचय पत्रबाट विमुख गरिएका नेपाली भाषी आन्दोलित बन्न पुगेका हुन्। पुर्खौदेखि भारतमा बस्दै आएका लाखौं नेपाली भाषीहरुको नाम हालै सार्वजनिक गरिएको राष्ट्रिय परिचय पत्रमा समावेस गरिएको छैन। र केन्द्रीय गृहमन्त्री अमित शाहले उनीहरुलाई घुषपैठिया भनेका थिए। यसले नेपाललाई पनि भारतको नागरिकता विधयकमा परोक्ष रुपमा तानिदिएको छ।

उता नागरिकता विधेयकमाथि संसदमा छलफलका क्रममा भारतीय गृहमन्त्री शाहले बांगलादेश र पाकिस्तानमा अल्पसंख्यकमाथि अत्याचार भएको बताएपछि बांगलादेशले त्यसको कडा प्रतिवाद गरेको छ। बांगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले बांगलादेश एक धर्म निरपेक्ष मुलुक भएको भन्दै अल्पसंख्यकमाथि कुनै अत्याचार नभएको बताएका छन्। उनले बिना मतलब भारतीय मन्त्रीले बांगलादेशको चर्चा गरेको भन्दै बांगलादेशबारे नबोल्न भनेका छन्।

यतिमात्र होइन बांगलादेशले यसअघि नै तय भएको बांगलादेशका विदेशमन्त्रीको भारत भ्रमण रद्द गरिदिएको छ। बीबीसी हिन्दीका अनुसार बांगलादेशी विदेशमन्त्रीले यही डिसेम्बर १२ देखि १४ सम्म भारतको भ्रमण गर्ने यसअघि नै तय भएको थियो। तर, नागरिकता विधेयकपछि विवाद उत्पन्न भएसँगै उनको यो भ्रमण रद्द भएको हो। यतिमात्र होइन बांगलादेशका गृहमन्त्री असुज्जदमान खानको भारत भ्रमण पनि रद्द भएको छ। उनी यही डिसेम्बर १३ मा भारत भ्रमणमा निस्कने बताइएको थियो।

उता पाकिस्तानले पनि भारतले संशोधन गरेको नागरिकता विधेयकमा कडा टिप्पणी गरेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको मोदी सरकार हिन्दु राष्ट्र निर्माणतर्फ अगाडि बढेको भन्दै भारतमा रहेको मुस्लिममाथि अत्याचार गरेको बताएका छन्।

भारत भित्रै पनि यो विधेयकको व्यापाक विरोध भएको छ। गुहाटीमा बुधबारदेखि नै कफर््यू लगाइएको छ भने शिलोंगमा बिहीबारदेखि कफर््यू लगाइएको छ। ती इन्टरनेट सेवा पनि बन्द गरिएको छ।

यो संशोधनको कैयौं भारतीय हस्तीहरुले विरोध जनाएका छन्। कलाकार, प्रशासक, सुरक्षाकर्मीहरुले यो नागरिकता ऐन संशोधनको विरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *