नेपालको भूमि मिचेको भन्दै गैरआवासीय नेपालीद्वारा क्यानडामा भारतविरुद्ध प्रदर्शन

डिसी नेपाल
३० मंसिर २०७६ १२:५१

टोरोन्टो । गैरआवासीय नेपालीहरूले क्यानाडाको टोरान्टोमा भारतले नेपाली भूमि समेटेर विवादित नक्सा जारी गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्।
एनआरएनए क्यानाडाको नेतृत्वमा गैरआवासीय नेपालीहरूले टोरोन्टोस्थित दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

भारत सरकारले पछिल्लो समयमा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो राष्ट्रिय नक्शाभित्र समेटेपछि
त्यसको विरोधमा एनआरएनए क्यानडाले टोरोन्टोस्थित भारतीय दूतावासमा विरोध पत्रसमेत बुझाएको छ ।

टोरोन्टो स्कारबोरो, मिसिसागा ब्राम्पटन लगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट सयौँको संख्यामा सहभागी नेपाली समुदायका
प्रतिनिधिहरूले दूतावासअगाडि प्ले कार्ड र ब्यानरसहित केहीबेर प्रदर्शन समेत गरेका थिए।

नेपालको अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने, नेपालको स्वाभिमानमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, भारतीय हेपाहा प्रवृत्ति सधैँको लागि अन्त्य हुनुपर्ने जस्ता नाराहरू घन्काउँदै दूतावासअगाडि प्रदर्शन गरिएको एनआरएनए क्यानाडाका समाचार संयोजक बद्री तिमिल्सिनाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार विरोधसभामा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले नेपालका सिमा क्षेत्रमा भइरहेका सिमा अतिक्रमण तत्काल बन्द गरेर अतिक्रमित भूभाग फिर्ता नगरे क्यानडाबासी नेपालीहरूले थप कदम समेत चाल्न सक्ने एउटै स्वरमा चेतावनी दिएका थिए । साथै उनीहरूले हप्तौँ बितिसक्दा पनि नेपाल सरकारले केही कदम चाल्न नसकेको भन्दै यथा शिघ्र कूटनीतिक कदमबाट समस्या समाधान गर्न आग्रह पनि गरेका छन्।

विरोध सभालाई  एनआरएनए क्यानडाका तर्फबाट अध्यक्ष चिरन्जिवी घिमिरे, पूर्व अध्यक्ष एवं वर्तमान आईसीसी सदस्य गोपीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुड, वर्तमान उपाध्यक्ष विजय पौडेल, एनसीसीएस टोरोन्टोका अध्यक्ष विदुर केसी, एनसीएनसीकी सचिव संगीता जिसी, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा, एनआरएनए क्यानडाका सल्लाहकार मुगा राजभण्डारी लगायतका प्रतिनिधिहरूले सम्बोधन गरेका  थिए।

एनआरएनए क्यानडाकै नेतृत्वमा सोही दिन राजधानी अटोवा र भ्यानकुवरस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाइएको छ । त्यहाँपनि उल्लेख्यरूपमा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागितामा विभिन्न प्लेकार्डसहित दूतावास अगाडि केही समय प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाइएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *